बागलुङ — बागलुङमा चालु वर्षको ८ महिनामा मात्रै १७९ क्षयरोगी भेटिएका छन् । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षयरोगी सबैभन्दा बढी भेटिएका हुन् । भेटिएकामध्ये १ सय १४ पुरुष र ६७ जना महिला छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले उक्त तथ्यांक सार्वजनिक गरेको हो । क्षयरोगको स्क्रीनिङ र कन्टयाकट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई तीब्रता दिएको छ । अझै पनि सम्भावित संक्रमित मध्ये ६८ प्रतिशत मात्रै भेटिएकोले खोजपड्तालबाट मात्र निवारण सम्भव भएको उनले जानकारी दिए । क्षयरोगीले पहाडमा भए १० र सहरी क्षेत्रमा भए २५ जनासम्मलाई संक्रमण सार्न सक्ने भएकोले खोजी गरेर संक्रमित पत्ता लगाइ उपचारमा ल्याउन नसके रोग फैलने सम्भावना बढी हुन्छ ।
विभिन्न शिविर र शंकास्पद व्यक्ति तथा क्षयरोगीको संसर्गमा आएका मानिसको परीक्षणबाट उक्त संख्या भेटिएको हो । पहिलो चरणमा जिल्लाका चार स्थानीय तहलाई क्षयरोगमुक्त बनाउने अभियान समेत चलेको छ । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले यो अभियान थालेका हुन्।
उक्त अभियानका लागि खोजपड्ताललाई पनि तीब्रता दिइएको हो । क्षयरोग मुक्त क्षेत्र बनाउन प्रतिवर्ष प्रति दश लाख जनसंख्यामा १ जना भन्दा कम बिरामी हुनुपर्ने प्रावधान छ । त्यसका लागि खोजी अभियान तीब्र भएर उपचारको दायरामा आएपछि मात्र सम्भव हुने जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ सोमबार क्षयरोग दिवस समेत मनाइँदै छ ।
परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या पनि बढ्ने सम्भावना छ । अघिल्लो बर्षको ८ महिनामा २ सय २७ क्षयरोगी भेटिएका थिए । चालुवर्ष बडिगाड गाउँपालिकामा खोजी गर्न बाँकी छदै यो संख्या आएको हो । संक्रमितको परिवार, सम्पर्कमा रहेका नागरिक समेतलाई परीक्षण गरेपछि मात्र यो रोगको वास्तविक तथ्यांक आउने गर्छ ।
गत वर्ष क्षयरोगकै कारण जिल्लाका १० जनाले ज्यान समेत गुमाएका थिए । पछिल्लो समय खोजपड्ताल पनि बढाइएको छ । जिल्लाभित्र दुई वटा मेसिन समेत जडान भएकोले परीक्षण पनि सहज बनेको हो । ‘खोजतलास प्रभावकारी भयो भने क्षयरोगीको संख्या बढ्ने देखिन्छ,’ घिमिरेले भने, ‘छिटो पत्ता लगाइयो भने समयमा उपचार गरेर निवारण गर्न सकिन्छ ।’ अन्य रोगी बढ्नु नराम्रो हो भने क्षयरोगी पत्ता लगाएर संख्या बढ्नुलाई निवारणको प्रयास मानिने उनले बताए ।
अत्याधुनिक मेसिन बागलुङमा जडान भएपछि परीक्षणको दायरा पनि बढेको छ । यस अघि काठमाडौं र पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । हाल धौलागिरि अस्पतालमा ‘एक्स्पट एक्सडिआर १० कलर’ र बुतिवाङ अस्पतालमा ‘डिएस ६ कलर’ मेसिन जडान भएको छ । हरेक स्वास्थ्य संस्थामा खकार परीक्षणबाट क्षयरोग पत्ता लगाउन सकिन्छ भने खकारबाट पत्ता नलागेको रोग ती मेसिनले पत्ता लाग्छ ।
घिमिरेका अनुसार फोक्सोको क्षयरोग सिधै खकारबाट पत्ता लगाउन सकिन्छ भने शरिरका अन्य अंगमा लाग्ने क्षयरोग भने मेसिनको सहायताले मात्र पत्ता लगाउन सकिन्छ । अध्ययन अनुसार नेपालका मानिसमा रौं र नङ बाहेक सबै अंगमा क्षयरोग लागेको भेटिएको हो । संख्या थपिए पनि उपचारको दायरामा छिटो लैजान ती मेसिन सहयोगी भएका छन् । नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ । बीचैमा छाड्नेबाट क्षयरोगको जटिल संक्रमण बढ्दा थप औषधी र उपचार पद्दति चाहिन्छ ।
