नेपाली दुनाटपरी युरोप निर्यात, स्वदेशमा पनि उच्च माग

अहिले उनको उद्योगमा १ सय कामदार छन् भने सालको पात संकलन गर्नेको संख्या एक हजारभन्दा बढी छ

चैत्र १०, २०८१

नवीन पौडेल

Nepali Dunatpari exports to Europe, high demand in the country as well

नवलपुर — मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । भएका कलकारखाना पनि बन्द हुने अवस्थामा थिए । तर, सोही समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१६ का सञ्जय गिरी भने दुनाटपरी उद्योग खोल्न कम्मर कसेर लागे । यो २०५५ सालको कुरा हो ।

कामको सिलसिलामा काठमाडौं जाँदा उनले हातले बुनेका टपरी बिक्री भएको देखेका थिए । आफ्नै घर वरिपरि घना सालको जंगल थियो । तिनका पात झरेर खेर गएको देखेका गिरीलाई टुनाटपरी उद्योग खोल्ने इच्छा लाग्यो । कच्चा पदार्थका लागि आफ्नै गाउँठाउँमा जंगल भएकाले सालको पातका लागि दुःख पाउनुपर्ने अवस्था थिएन । उद्योग खोल्ने तयारीका साथमा उनी औजार तथा उपकरणका लागि भारत पुगे । 

भारतमा मेसिनबाट टपरी बनाएको पनि उनले देखेका थिए । उद्योग खोल्ने हुटहुटी भएका गिरीले २०५६ सालमा आधुनिक तरिकाले टपरी उत्पादन गर्ने उद्योग ‘इन्द्रदेव दुना टपरी’ स्थापना गरे । 

१० कठ्ठा जग्गा बिक्री गरेर लगानी गरेका गिरीको उत्पादनले बजार पाएन । द्वन्द्वको प्रभाव र बजारको अवस्था नबुझीकन उद्योग खोलेर धमाधम दुनाटपरी उत्पादन गरे पनि बजार नपाएपछि २०५८ सालमा उद्योग नै बन्द भयो । खेतबारी बिक्री गरेर खोलेको उद्योग बन्द भएपछि गिरी निराश भएनन्, बरु उद्योगबाट उत्पादन भएका सामान किन बिक्री भएन भन्ने बजार अध्ययनमा लागे । दुई वर्षसम्म बजार अध्ययन गरेपछि उनले बन्द भएको उद्योगलाई २०६० सालमा फेरि सञ्चालनमा ल्याए । त्यसपछि अहिलेसम्म उनलाई बजारको समस्या परेको छैन । 

अहिले उद्योगको प्रशासनिक काम छोराहरू कृष्ण र वासुदेव गिरीले हेर्दै आएका छन् । बुवाले सुरु गरेको व्यवसायलाई छोराले नयाँ प्रविधि र आफ्नो उत्पादन ब्रान्डिङ गरिरहेका छन् । 'हामीले व्यवसाय सुरु गर्दा बजारको मागअनुसार उत्पादन नगरेर आफ्नो तरिकाले उत्पादन गरेको सामान बजारमा पठाएका रहेछौं,' उद्योग सञ्चालक कृष्ण गिरीले भने, 'एकै प्रकारका र एउटै आकारको मात्र बनाउँदा हामी सुरुवाती दिनमा असफल भयौं ।' तर, अहिले उद्योगको मेसिन आफैले बनाएर बजारको मागअनुसार गुणस्तर र आकारमा ध्यान दिएको गिरी बताउँछन् । प्रसाद खाने टपरी र झोल मःम खाने टपरीको आकारप्रकार अनि गुणस्तरमा फरक हुनुपर्ने उनले बुझिसकेका छन् ।

अहिले उनको दुनाटपरी स्वदेशमा मात्र होइन युरोपका विभिन्न मुलुकमा बिक्री भइरहेको छ । नेपाली टपरी अहिले विश्वकै चर्चित अनलाइन प्लेटफर्म अमेजनमा पनि उपलब्ध छ । अमेरिका, यूके, पोल्यान्ड, अस्ट्रेलिया, जर्मन, फ्रान्समा निर्यात हुँदै आइरहेको छ । सालको पात, बाँसको सिन्काको मात्र प्रयोग हुने र कुनै पनि रसायन प्रयोग नभएका कारण विदेशीले नेपाली टपरी निकै रुचाएका छन् । अहिले बजारमा सामान्य र प्रिमियम गरेर दुई वटा गुणस्तरका टपरी उपलब्ध छन् । प्रिमियमा क्वालिटीका टपरी विदेश निर्यात गरिन्छ । विदेशमा मात्र वार्षिक २ करोडभन्दा बढीको टपरीको माग उनको कम्पनीमा आउँछ । 

उद्योगबाट अहिले दैनिक १ लाख दुनाटपरी बजार पठाउने गरेको गिरी बताउँछन् । धार्मिक एवं वातावरणीय हिसाबले पनि यसको प्रयोग राम्रो भएकाले स्वदेश तथा विदेशमा माग बढ्दो छ । कच्चा पदार्थ बाहिरबाट आयात गर्न नपर्ने र विशुद्ध नेपाली उत्पादन भएकाले विदेशमा निर्यात बढाउन सकेमा केही हदसम्म भए पनि व्यापार घाटा कम गर्न सकिने सञ्चालक गिरीले बताए ।

अहिले उनको उद्योगमा १ सय कामदार छन् । गाउँगाउँका वनमा सालको पात टिपेर संकलन गर्नेको संख्या एक हजारभन्दा बढी छ । बिहान बेलुकाको काम सकेर दिउँसो फुर्सदमा साथीहरुसँग जंगल गएर पात टिपेर आम्दानी हुने भएपछि स्थानीय पनि खुसी छन् ।   

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully