अबुवा-पौवाटार सडकको काम एक वर्षमा १५ प्रतिशत

चैत्र १०, २०८१

हरिराम उप्रेती

Abuwa-Pauwatar road work 15 percent in one year

गोरखा — दुई वर्षभित्र सडक कालोपत्र सक्नेगरी ठेक्का लागेको अबुवा–विर्दि–सेरा–पौवाटार सडकको काममा ढिलाइ भएको छ । सन् २०२४ मार्चमा सम्झौता भएको कामको हालसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति छ । एम/एस भीबीइपीएल–एसीपीएल जेभीले ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई पोखरासित सडक निर्माणको सम्झौता गरी काम थालेको थियो ।

अबुवादेखि पौवाटारसम्मको १५.५५१ किलोमिटर नाला निर्माण, सडक स्तरोउन्नति तथा कालोपत्र गर्ने ३० करोड ६१ लाखमा ठेक्का लागेकोमा एक वर्षसम्म १५ प्रतिशत र वित्तिय प्र्रगति १० प्रतिशत मात्र रहेको इकाईका इन्जिनियर मोहन भट्टराईले बताए।

‘सुरुको ७/८ महिना काम निकै सुस्त थियो, दुइ महिना यता भने कामले तिव्रता पाएको छ,’ उनले भने । निर्माण कम्पनीले सुरुवाती चरणमा काममा ढिलाई गर्दा समयमै काम सम्पन्न हुन गाह्रो देखिएको स्थानीय बताउँछन् । २४ महिनाभित्र काम सक्ने गरी ठेक्का लागेको सडकको प्रगति निराशाजनक रहेको भन्दै स्थानीयले चिन्ता जनाए ।

कालोपत्रका लागि अहिले कटिङ, नाला निर्माणको काम भइरहेको छ । उक्त सडक ५.५ मिटर फराकिलो बन्ने छ । सडक कालोपत्र पश्चात गोरखा नगरपालिका–१३ र १४ तथा पालुङटार नगरपालिकाको ९ र ६ का बासिन्दा लाभान्वित हुने छन् । पछिल्लो समय कामले तीव्रता पाएको पालुङटा नगरपालिका–९ का वडा अध्यक्ष भेजराज पाण्डेले पनि बताए।

‘पहिले भन्दा अहिले काम तीव्र गतिमा काम अघि बढेको छ,’ उनले भने, ‘छिटो भ्याउनुपर्‍यो भनेर हामीले पनि ताकेता त गरिरहेका छौँ, समयमै भ्याइदिए निकै सहज हुन्थ्यो ।’ सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आउजाउमा समस्या परेको उनले बताए । ‘यस भेगको यो मुख्य सडक हो, गोरखा बजार, आबुखैरेनी जता जानुपरे पनि यही सडक भएर जान्छौँ, अब ठेक्का लागिसकेको छ समयमै कालोपत्र भए सहज बन्छ,’ उनले भने ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण शुरु भएको हो । सडक डिभिएसटी प्रविधिबाट कालोपत्रे हुने छ । उत्त सडकका लागि चालु आर्थिक वर्ष १२ करोड रुपैयाँ विनियोजन भएको छ । ट्रयाक खुलेको झण्डै तीन दशकपछि सडक कालोपत्रे हुन लागेको स्थानीयले बताए ।

सडक निर्माण समयमै सक्नका लागि कामलाई तिवता दिनुपर्ने वडा अध्यक्ष पाण्डेले बताए । सडक निर्माणको काम समयमै पूरा गर्न र गुणस्तरीयतामा ध्यान दिन पनि स्थानीयले माग राख्दै आएका छन् । सडक वनेपछि यस भेगका स्थानीयलाई नयाँ पुल हुँदै पोखरा पुग्न वैकल्पिक मार्गको रुपमा पनि सहज बन्ने छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully