गोरखा — पूर्वराजा ज्ञानेन्द्र शाह गणतन्त्र स्थापनापछि पहिलोपटक पुर्ख्यौली थलो गोरखा आएका छन् । शनिबार गोरखा आएका शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरे । शाहवंशीय राजाहरुले कुलदेवताका रुपमा पुज्दै आएको गोरखकाली मन्दिरमा पूर्वराजा शाहले झन्डै २ घण्टा बिताए ।
गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्दै शाहले भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको अवलोकन समेत गरे ।
पूर्वराजाका समर्थकले केहीबेर राजसंस्थाका पक्षमा नारा लगाएका थिए । उनीहरुले आबुखैरेनीदेखि गोरखा दरबारसम्म मोटरसाइकल र्याली पनि गरेका थिए ।
शाहलाई गोरखा भ्रमणको व्यवस्थापनका लागि नागरिक समाज गठन गरिएको थियो । ‘शाहवंशीय राजाको कुलदेवता गोरखकाली हो । गोरखकाली, गोरखनाथ र वज्रभैरवको पूजाका लागि उहाँ आउनुभएको हो,’ नागरिक समाजका सहसंयोजक होम सिं बस्नेतले भने, ‘पूजाअर्चना गरेर उहाँ फर्कनुभयो ।’
शाहले आइतबार मनकामना मन्दिरको पूजाअर्चना गर्ने कार्यक्रम छ ।
