हाम्रो बजेट वैज्ञानिक र न्यायिक भएन : नेता श्रेष्ठ

चैत्र ९, २०८१

प्रकाश बराल

Our budget was not scientific and judicial: Leader Shrestha

बागलुङ — माओवादी नेता नारायणकाजी श्रेष्ठले संघीयतामा स्थानीय तह बलियो बन्नुपर्ने बताएका छन् । स्थानीय तहलाई बलियो बनाउन साधन र स्रोत अझै अपर्याप्त रहेको उनको भनाइ थियो ।

माओवादीको प्रशिक्षण कार्यक्रममा शनिबार बागलुङ आएका श्रेष्ठले बागलुङ नगरपालिकाको कार्यक्रममा भने, ‘कतिपयले प्रदेशअन्तर्गत राख्नुपर्ने पनि सुझाव दिएका थिए, तर हामीले स्वायत्त स्थानीय तहको व्यवस्थामा सहमति गरेका हौं । ग्रामीण क्षेत्रमा आउनुपर्ने बजेट पनि अब सिधै स्थानीय तहमै आउनुपर्छ ।’

केही बजेट आए पनि अधिकांस बजेट संघ र प्रदेशको चाहनामा आउने, माग्न जानुपर्ने बाध्यता हटाउन सबैको पहल आवश्यक भएको उनले बताए । 

नेपालको बजेट समेत वैज्ञानिक र न्यायिक नभएको उनले टिप्पणी गरे । कसरी जिल्ला र स्थानीय तहको विकास गर्नेभन्दा कसरी माथिल्लो निकायबाट पहुँचका आधारमा बजेट बाँड्ने भन्ने केन्द्रीय सोच बदल्नुपर्ने उनको भनाइ थियो । ‘जनताले चाहेअनुसारको विकास दिन नसक्दा नागरिकको असन्तुष्टि चुलिएको छ,’ उनले भने, ‘योजनाबद्ध र प्रभावकारी योजना बनाएर कार्यान्वयन नगरे जनताले नेतृत्वलाई विश्वास गर्दैनन् ।’

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully