जल संरक्षणको सन्देशसहित साइकल र्‍याली

चैत्र ९, २०८१

आश गुरुङ

Cycle rally with message of water conservation

लमजुङ — जल संरक्षणको सन्देश दिँदै लमजुङमा शनिबार साइकल र्‍याली निकालिएको छ । सहभागीले साइलकमा जल संरक्षणसम्बन्धी विभिन्न सन्देशमुलक प्लेकार्ड बोक्दै करिब ४० किलोमिटर यात्रा गरेका छन् ।

विश्व जल दिवसको दिन लमजुङ जेसीस–२०२५ ले सुन्दरबजारदेखि सदरमुकाम बेंसीसहर हुँदै भुलभुले पुगेर पुनः बेंसीसहरसम्म साइकल र्‍याली निकालेको थियो । ५० जना सहभागी र्‍यालीको सुन्दरबजारमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले सुरुवात गरे ।

मर्स्याङ्दी गाउँपालिकामा अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंलगायतले स्वागत गरे । लमजुङ जेसीस–२०२५ का अध्यक्ष प्रतिजंग तामाङले जल संरक्षण, ग्लेसियर संरक्षण, स्वच्छ पानीको दिगो उपयोग, वातावरणमैत्री यातायातको प्रवर्द्धनका लागि सार्वजनिक सचेतना अभिबृद्धि गर्न साइकल र्‍याली आयोजना गरिएको बताए ।

लमजुङ जेसीस–२०२५ का कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङका अनुसार ३ साताअघि पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जल संरक्षणको सन्देश दिनको लागि साइकल र्‍यालीको आहृवान गरिएको थियो । बेंसीसहरमा साइकल चलाउँदै आएका युवाहरु जल संरक्षणको सन्देश दिन तत्पर रहँदै र्‍यालीमा सहभागी भएको उनले बताइन् । उनका अनुसार चैतेदसैंका दिन चैत २३ गते विश्व शान्तिको कामना गर्दै खुला म्याराथन प्रतियोगिता राखिने भएको छ ।

२६ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता बेंसीसहरबाट सुरु भएर वडा नं.–१० पिसहिल हुँदै मर्स्याङ्दी गाउँपालिकाको केही भाग भएर पुनः बेंसीसहर भएर बेंसीसहर नगरपालिका ३ गाउँसहर दरबार पुगेर टुंगिने आयोजकले बताएको छ ।

Cycle rally with message of water conservation

Cycle rally with message of water conservation

Cycle rally with message of water conservation

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully