गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार शुक्रबार कार्यपालिका बैठकले पुरस्कार रकम तोकेको हो
गोरखा — सहिद लखन गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षामा ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । पालिकास्तरीय कक्षा ८ को परीक्षामा ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीलाई १० हजार नगदसहित सम्मान गर्ने गाउँपालिकाले जनाएको छ ।
२०८१ को वार्षिक परीक्षामा ३.६० जीपीएभन्दा माथि नतिजा हासिल गर्ने ८, १० र १२ कक्षाका विद्यार्थीलाई नगदसहित सम्मान गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । ३.९० देखि ३.९९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई ४० हजार र कक्षा ८ का विद्यार्थीलाई ८ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिने उनले बताए ।
३.८० देखि ३.८९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई ३० हजार र कक्षा ८ का परिक्षार्थीलाई ६ हजार, ३.७० देखि ३.७९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ कालाई २० हजार र कक्षा ८ कालाई ४ हजार पुरस्कार दिइने छ । त्यस्तै ३.६० देखि ३.६९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई १० हजार र कक्षा ८ कालाई २ हजार रुपैयाँ पुरस्कार दिइने छ ।
विद्यार्थीलाई प्रोत्साहनका लागि यो निर्णय गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख खनालले बताए । ‘पालिकाको वार्षिक कार्यक्रम अनुसार नै विद्यार्थी प्रोत्साहन स्वरुप नगद पुरस्कारको घोषणा गरेका हौं,’ उनले भने,‘पहिले कार्यक्रम मात्र राखिएको थियो, कार्यपालिका बैठकले रकम खुलाएको हो ।’
उक्त कार्यक्रमका लागि गाउँपालिकाले दुई लाख बजेट छुट्टाएको छ । यस वर्षको एसईईमा सहिद लखन गाउँपालिकाबाट १ सय ९९ परीक्षार्थी सहभागी छन् । त्यस्तै कक्षा ८ को पालिका स्तरीय परीक्षामा २ सय १० विद्यार्थी सहभागी बनेका छन् ।
