मनाङको नार्पाभूमिस्थित फू गाउँमा सशस्त्रको बीओपी स्थापना गरिने

चैत्र ८, २०८१

आश गुरुङ

Armed BOP will be established in Foo village in Narpabhoomi, Manang

लमजुङ — चीनसँग सीमा जोडिएको मनाङको नार्पाभूमि गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ ।

नार्पाभूमि गाउँपालिका–४, फू (साविक फू गाविस–२) मा बीओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । यो ठाउँ समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा पर्छ । 

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बीओपी स्थापनाको लागि २० रोपनी जग्गा दीर्घकालीन लिजका रुपमा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको बताए । सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी लिजमा उपलब्ध गराइको उनले बताए ।

उक्त लिज प्रमाणपत्र उनले सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरेका छन् ।

फू क्षेत्र मनाङको विकट हिमाली क्षेत्रको रुपमा रहेको, हालसम्म सडक सञ्जाल नपुगेको क्षेत्र भएकाले बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानी साथै अन्तरदेशीय अपराध नियन्त्रणका लागि अत्यन्तै प्रभावकारी हुने प्रजिअ आचार्यले विश्वास व्यक्त गरे ।

Armed BOP will be established in Foo village in Narpabhoomi, Manangमनाङको नार्पाभूमि गाउँपालिका ४, फू गाउँस्थित सशस्त्र प्रहरीको बीओपी स्थापनाको लागि लिजमा लिइएको क्षेत्र र लिज प्रमाणपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी मातृका आचार्य ।

बीओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी रहनेछन् । प्रमुख जिल्ला अधिकारी आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बीओपी स्थापना गरिहाल्ने बताए ।

उनले बीओपी स्थापना पछि शान्ति सुरक्षा, विपद व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धार थप प्रवभाकारी हुने अपेक्षा गरे ।

नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने यो क्षेत्र निषेधित क्षेत्र पनि हो ।

नार्पाभूमिको फू गाउँ पुग्न मनाङ सदरमुकाम चामेबाट दुई दिन लाग्छ । हालसम्म सडक नपुगेको यो ठाउँ पुग्न पैदल हिँड्नुपर्छ । फू गाउँबाट चीन सिमाना पुग्न पनि दुई दिन लाग्छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully