लमजुङ — आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देशभरमा सबैभन्दा कम विद्यार्थी मनाङबाट सहभागी रहेका छन् ।
पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजीमा ग्रेडवृद्धितर्फ एक जना छात्रसहित जम्मा ४१ जनाले परीक्षा दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाले ४२ जना हुनुपर्नेमा नियमिततर्फका १ जना छात्र उपस्थित नभएको बताए । उनका अनुसार पहिलो दिन छात्रा २२ र छात्र १९ जना छात्र परीक्षामा सहभागी छन् । सुस्त मनस्थितिका १ जना छात्र रहेको र उनलाई आधा घण्टाको समय थप गराइएको छ ।
जिल्लाभर ३ वटा स्कुलका परीक्षार्थीले एउटामात्रै केन्द्र लोकप्रिय मावि चामे केन्द्रबाट परीक्षा दिएका छन् । परीक्षामा लोकप्रिय माविबाट १५ जना छन् । लोकप्रिय मावि खुलाबाट २ जना रहेकोमा १ जना छात्राले परीक्षा दिएको र १ जना छात्र अनुपस्थित रहेको केन्द्रले जनाएको छ ।
तल्लो मनाङको नासोंस्थित प्रकाश ज्योति माविबाट २१ जना परीक्षामा सहभागी छन् । माथिल्लो मनाङको अन्नपूर्ण माविबाट ४ जना परीक्षामा सहभागी छन् । परीक्षा शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।
