'निर्वाचनमा पार्टीले हस्तक्षेप गर्दा चरम गुटबन्दीको निर्मम सिकार'
बागलुङ — नेपाल विद्यार्थी संघ, बागलुङका अध्यक्ष विशेष पराजुलीले राजीनामा दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीले हस्तक्षेप गर्दा चरम गुटबन्दीको निर्मम सिकार बन्नुपरेकाले राजीनामा दिएको उनले बताए ।
धौलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेविसंघबाट सभापति पदकी उमेदवार सृष्टि आचार्य पराजित भएकी छन् । सभापतिमा अनेरास्वियुकी आस्मिन शेख विजयी भइन् ।
नेविसंघबाट दीपक सुवेदी बागी उठेका थिए । उनले ७ मत ल्याएका थिए भने नेविसंघमै आबद्ध भए पनि स्वतन्त्र समूहका रुपमा उठेकाले १ सय २२ मत ल्याएका थिए । आचार्य ६१ मतले पराजित भएकी थिइन् । सुवेदीले समय सकिएपछि मात्रै 'मिडप्याक' गरेका थिए ।
निर्वाचनमा अनेरास्वियुले एक सदस्य मात्रै जितेको छ भने अन्य सबै पदमा नेविसंघका उमेदवार विजयी भए । उमेदवार छनोट प्रक्रियाबाटै पार्टीले हस्तक्षेप गरेको पराजुलीको आरोप छ ।
राजीनामापत्रमा पराजुलीले लोकतन्त्र हार स्वीकार गर्ने व्यवस्था भएकाले हारलाई सहर्ष स्वीकार गरेर जित्ने उमेदवारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 'पार्टी नेतृत्वको अलोकतान्त्रिक, अराजनीतिक र गैरजिम्मेवार चरित्रका कारण हामीले आफ्नै संघर्षको इतिहासलाई न्याय गर्न सकेनौं,’ उनले भनेका छन्, ‘कर्तव्य पालना गरेर पनि परिणाम दिन नसकेपछि हारको नैतिक जिम्मेवारी लिएर राजीनामा गर्दछु ।’
उनले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
