पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन चैत १० मा

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Prithvi Narayan Campus Swaviyu Election on March 10

कास्की — मतपत्रमा भएको त्रुटिका कारण स्थगित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको नयाँ मिति तोकिएको छ ।

मंगलबार स्थगित भएको निर्वाचन चैत १० आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म गर्ने संघ-संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारबीच सहमति जुटेको निर्वाचन समितिले बुधबार सूचनामार्फत जानकारी दिएको छ । निर्वाचनका लागि चैत ७ मध्यराति १२ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत प्रा. डा. रामचन्द्र पोखरेलले जानकारी दिए ।

मतपत्रमा प्रत्यक्षतर्फ अनेरास्ववियु (छैठौं)बाट अध्यक्ष पदका उम्मेदवार रहेका मिलन सुनारको नाममा कोष्ठक छुटेपछि मंगलबार निर्वाचन हुन सकेको थिएन । नयाँ मतपत्र प्रकाशनपछि निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि सुरु हुने गरेर मतदान स्थगित गरेको थियो । तर, असन्तुष्ट पक्षले मंगलबार नै ताला लगाएपछि बुधबार मतदान हुन पाएन । बुधबार साँझ बसेको निर्वाचन समिति र संगठन, स्वतन्त्र उम्मेदवारबीचको संयुक्त बैठकमा नयाँ मिति तोक्ने सहमति जुटेको हो ।

अखिल (छैठौं)बाट अध्यक्ष पदका उम्मेदवार रहेका सुनारले आफूहरुलाई पेल्ने काम भएको बताए । क्याम्पसले नयाँ मिति तोकेकोमा आफ्नो संगठनको कुनै सहमति नरहेको उनको भनाइ छ । `सबै संघ-संगठनको सहमति भनिएको छ । तर नयाँ शक्ति विद्यार्थी युनियन र हाम्रो सहमति छैन,´ उनले भने, `ठूलो संगठन भनेकाले फोडेको भए हामीलाई थाहा छैन ।´

पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल दर्ता भएका छन् । प्रत्यक्षतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियु (छैठौं), प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, नेपाल विद्यार्थी संघ, संयुक्त प्यानल, अनेरास्ववियुका उम्मेदवार चुनावी मैदानमा छन् । स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, अनेरास्ववियु (छैठौं)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद नेपाल, अखिल (छैटौँ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन् । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् । ०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully