धौलागिरि बहुमुखी क्याम्पसमा अखिलकी शेख निर्वाचित

चैत्र ६, २०८१

प्रकाश बराल

Akhilki Sheikh elected at Dhaulagiri Multipurpose Campus

बागलुङ — मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धौलागिरि बहुमुखी क्याम्पसमा पहिलो पटक महिला सभापति निर्वाचित भएकी छिन् ।

अखिल संयुक्तको तर्फबाट अनेरास्ववियुकी आस्मिन शेख सभापतिमा निर्वाचित भएकी हुन् । कुल १ हजार ५९ मत खसेकोमा शेखले ५ सय ५२ मत ल्याइन् । नेविसंघकी सृष्टि आचार्यले ४ सय ९१ मत पाइन् ।

सचिव, कोषाध्यक्ष र अधिकांश सदस्य नेविसंघका विजयी भए । सचिवमा नेविसंघका सचिन हरिजनले ५ सय ३४ मत पाएर विजयी भए भने अखिल संयुक्तका रुद्रबहादुर पुनले ५ सय ९ मत पाए । कोषाध्यक्षमा नेविसंघका विशाल घर्तीले ६ सय ५४ मत ल्याएर विजयी भए । अखिल संयुक्तकी रेशा शर्माले ३ सय ८४ मत पाइन् । ६ सदस्यमा ५ जना नेविसंघका र एक जना संयुक्तका निर्वाचित भए । 

२०१९ सालमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा पहिलो पटक महिलाबीच नै सभापतिका लागि चुनाव भएको हो । सदस्यहरुमा नेविसंघका प्रशान्त सुवेदी, दिप सागर सुवेदी, सुदिप घर्ती,सृष्टी घर्तीमगर, सुवास बाबु घर्ती र अखिलका विकल्प घर्ती निर्वाचित भए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully