पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव स्थगित

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Prithvi Narayan campus elections postponed

कास्की — पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान स्थगित भएको छ । बुधबार बिहान ८ बजेबाट सुरु गर्ने गरी मंगलबारको मतदान स्थगित गरिएको हो ।

मंगलबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि प्रत्यक्षतर्फको मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवारको नामपछाडि रेजा लगाउने कोठा छुटेपछि विवाद भएको थियो । त्यसपछि नयाँ मतपत्र छपाइ गरेर मतदान सुरु गर्न ढिला हुने भएपछि संघसंगठन र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको रायबमोजिम मतदान स्थगित गरिएको निर्वाचन अधिकृत रामचन्द्र पोखरेलले जानकारी दिए ।

निर्वाचन समितिले मतपत्रमा भएको त्रुटिका लागि सूचनामार्फत आत्मालोचना गरेको छ । मतदान सुरु माग गरेर विद्यार्थी संगठन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज पनि गरेको थियो । नेविसंघ, अनेरास्ववियुसहित विद्यार्थी संगठनले क्याम्पसको गेट धकेलेपछि सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको हो । 

पृथ्वीनारायण क्याम्पसको २२ औं स्ववियु अध्यक्ष बन्न ८ जनाले उम्मेदवारी दिएका छन् । मंगलबार हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन् ।

स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् ।यहाँ २०६५  सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन । 

कान्तिपुर

Link copied successfully