विदेशमा बसेर नेपाललाई गाली गर्ने काम बन्द गरौं : मुख्यमन्त्री पाण्डे

चैत्र ५, २०८१

हरिराम उप्रेती

Let's stop insulting Nepal by staying abroad: Chief Minister Pandey

गोरखा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विदेशमा बसेर नेपाललाई गाली गर्ने काम तुरून्त बन्द गर्न आग्रह गरेका छन् ।मंगलबार पालुङटार नगरपालिका–९ स्थित नवनिर्मित मोटरेबल पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन् ।

‘केही भएन, केही हुन सकेन भनेर निराशाजनक कुरा मात्रै गर्ने परिपाटी बसेको छ,’ उनले भने, ‘सकारात्मक सोचका साथ अघि बढ्यौं भने स्वदेशमै पनि केही गर्न सकिन्छ । गालीमात्रै गर्ने काम बन्द गरौं ।’

विदेशमा बसेर पनि मातृभूमिप्रति कर्तव्य पूरा गर्न सकिने उनले बताए । ‘जो देश छाडेर जानुभएको छ, मातृभूमिप्रति मेरो पनि केही कर्तव्य छ भनेर केही त गर्नूस्, विदेशमा बसेर नेपाललाई गालीमात्रै नगर्नुस्,’ उनले भने, ‘हामी यहाँ भएका जस्ता छौं, हामीले नै चलाउँछौं, हामीभन्दा गतिलो गर्छु भन्ने कसैलाई लागेको छ भने चुनाव हुन्छ, पद्धति बसाएका छौं, आउनुस् देश सबैको हो, सबै मिलेर बनाऔं, म अहिले मुख्यमन्त्री छु, म जुन प्रक्रियाबाट आएको छु, त्यही प्रक्रियाबाट आएर मभन्दा राम्रो गर्नुस्, गरेको कुरालाई पनि भएन, हुँदै भएन भनेर जनतालार्ई निराश बनाउने काम अब बन्द गरौं ।’ 

फरक प्रसंगमा व्यावसायिक रूपमा उत्पादित कृषि उपज बिक्रीको ‘ग्यारेन्टी’ अब सरकारले लिने पनि उनको भनाइ थियो । ‘उत्पादित चिजले बजार पाएन भने किन्ने वातावरण सरकारले बनाउनेछ, उत्पादन गर्ने आँट देखाउनुपर्‍यो,’ उनले भने, ‘खेपतपाती गर्‍यो भने लाज हुन्छ भन्ने सोच्छौं, यही कमजोरी भएको छ । काम जे गरे पनि हुन्छ ।’ 

गाउँबाट सहर जाने, सहरबाट विदेश जाने परिपाटी बढेको भन्दै उनले चिन्ता पनि जनाए । ‘सडक, खानेपानी, विजुली वत्ति जे को कुरा गर्दा पनि गाउँमा पुगेका छन्, पहिले ५ सय जना बस्ने गाउँमा अहिले १ सय जना छन्,’ उनले भने ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully