कास्की — पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘कोसेली घर’ बन्ने भएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोसेली घर बनाइने भएको हो ।
कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरूङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, यूएनडीपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले सोमबार संयुक्त शिलान्यास गरे ।
हरित रोजगारी सिर्जना परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र यूएनडीपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्ने सम्झौता छ । परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ वस्तु उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त परियोजनाको बजेटअन्तर्गत १ वर्ष ६ महिनामा सक्ने गरी इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी काठमाडौंले कोसेली घर निर्माणको जिम्मा लिएको छ ।
नगर प्रमुख आचार्यले हरित रोजगारी सिर्जनासँगै चक्रिय अर्थतन्त्रको निर्माणमा परियोजनाले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । फोहोरमैला व्यवस्थापन निकै चुनौती बनिरहँदा मोहोरमा बदल्ने योजनाले सामुदायिक सशक्तिकरणमा भूमिका खेल्ने उनको भनाइ छ । पुनः प्रयोगमा आउने फोहोर १ सय ३६ वटा समूहमार्फत सामग्री निर्माण गरी सशक्तीकरणसँग जोडिने प्रमुख आचार्यले बताए । परियोजनाको पहिलो चरणमा ३ हजारभन्दा बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सिर्जना हुने उनको दाबी छ ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पर्यटकीय राजधानीमा रिसाइकल र अपसाइकलमार्फत् हरित रोजगारी सृजनालाई नमुनाका रूपमा विकास गर्न यो परियोजना कोसेढुंगा साबित हुने जिकिर गरे । हरित रोजगारी सिर्जना संसारभर निकै प्रभावकारी परियोजनाका रूपमा अगाडी आएको कोङको भनाइ छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले परियोजनाले उद्यमीको क्षमता विकास गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्ने बताए । परियोजनामार्फत ग्रीन भेन्चर जोन (जीभीजेड) स्थापना गरी वित्तीय, प्राविधिक र बजार सहायता प्रदान गरिने उनले सुनाए ।
