कास्की — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सुरु गर्न माग गर्दै इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) का विद्यार्थी आन्दोलित भएका छन् । क्याम्पस गेटमा ढुंगा र बोतल प्रहार भएको छ ।
४ घण्टासम्म मतदानका लागि गेट नखुलेपछि विद्यार्थी आन्दोलित बनेका हुन् । क्याम्पसको होस्टेलमा बस्ने करिब ४ सय विद्यार्थीले मतदान गरे पनि बिहानैबाट गेटबाहिर रहेकाले मतदान गर्न पाएका छैनन् । नेविसंघका विद्यार्थीले गेटमा रिले अनसन गरेर अवरोध गरेपछि विद्यार्थी गेटभित्र छिर्न नपाएका हुन् । गेटभित्र बसेका विद्यार्थीले गेटमा अवरोध गर्नेलाई ढुंगा र बाहिर बस्नेले बोतल प्रहार गरेका छन् ।
अहिले बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
नेविसंघको आन्तरिक विवादका कारण यस क्याम्पसमा निर्वाचन प्रक्रियामा अवरोध पुगेको हो । निर्वाचन प्रक्रियाअन्तर्गत गत फागुन २६ मा क्याम्पसमा मनोनयनपत्र वितरण गरिएको थियो । उक्त दिन अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी) र ३ जना स्वतन्त्र उम्मेदवारसहित ६ जनाले मनोनयनपत्र लिएका थिए । ३ वटै संगठनसहित १ जना स्वतन्त्र उम्मेदवारले फागुन २७ मा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र बुझाए । आन्तरिक विवादले गर्दा नेविसंघले च्यातिएको मनोनयन पत्र बुझाउनुपर्ने परिस्थिति बन्यो ।
सचिव पदमा नेविसंघबाट कुशल सापकोटा र प्रशान्त जोशी उम्मेदवारको आकांक्षी थिए । जोशीले मनोनयन फारम भर्दा सापकोटा पक्षले त्यसलाई च्यातिदियो । जोशीले २ टुक्रा भएको मनोनयपत्र निर्वाचन समितिमा बुझाए । निर्वाचन समितिले त्यो खारेज गर्ने निर्णय गर्यो । नेविसंघको क्याम्पस इकाइ सचिवबिना भए पनि निर्वाचनामा जानुपर्ने पक्षमा छ भने केन्द्रीय समिति सचिव नभई निर्वाचन लड्न नहुने पक्षमा छ ।
