कास्की — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव पदको उम्मेदवारी कायम हुनुपर्ने माग राखेर नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा प्रदर्शन गरेको छ । नेविसंघले सोमबार साँझ क्याम्पस गेटमा टायर बालेर प्रदर्शन गरेको हो । प्रदर्शन गर्ने समूहले ‘हाम्रो सचिव फिर्ता गर्’, ‘क्याम्पस प्रशासन मुर्दावाद’लगायत नारा लगाए ।
निर्वाचन प्रक्रियाअन्तर्गत गत फागुन २६ मा क्याम्पसमा मनोनयन पत्र वितरण गरिएको थियो । उक्त दिन अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी) र ३ जना स्वतन्त्र उम्मेदवारसहित ६ जनाले मनोनयन पत्र लिएका थिए । ३ वटै संगठनसहित १ जना स्वतन्त्र उम्मेदवारले फागुन २७ मा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र बुझाए । आन्तरिक विवादले गर्दा नेविसंघले च्यातिएको मनोनयन पत्र बुझाउनुपर्ने परिस्थिति बन्यो ।
सचिव पदमा नेविसंघबाट कुशल सापकोटा र प्रशान्त जोशी उम्मेद्वारको आकांक्षी थिए । जोशीले मनोनयन फारम भर्दा सापकोटा पक्षले त्यसलाई च्यातिदियो । जोशीले २ टुक्रा भएको मनोनय पत्र निर्वाचन समितिमा बुझाए । निर्वाचन समितिले त्यो खारेज गर्ने निर्णय गर्यो । नेविसंघको क्याम्पस इकाई सचिवबिना नै भए पनि निर्वाचनामा जानुपर्ने पक्षमा छ भने केन्द्रीय समिति सचिव नभई निर्वाचन लड्न नहुने पक्षमा छ ।
नेविसंघ क्याम्पस इकाई सभापति सौगात पण्डितले आफूहरू निर्वाचन प्रक्रियाअनुसार अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । ‘सचिवको उम्मेदवार हुनुपर्छ भन्नेमा हामी छौं । तर, निर्वाचन प्रक्रियामा त्यही कुराले रोकिन हुँदैन,’ उनले इकान्तिपुरसित भने । क्याम्पस गेटमा गरिएको प्रदर्शनमा नेविसंघ क्याम्पस इकाईको सहभागिता र समर्थन नरहेको पण्डितले दाबी गरे ।
क्याम्पसमा रहेका विद्यार्थी संगठनले सोमबार संयुक्त विज्ञप्ति प्रकाशन गरेर निर्वाचन गर्न माग गरेका छन् । नेविसंघ इकाई सभापति सौगात पण्डित, अनेरास्ववियु अध्यक्ष भुवन डाँगी, अखिल (क्रान्तिकारी)अध्यक्ष नवीन श्रेष्ठ र स्वतन्त्र उम्मेदवार प्रकाश धामीले चुनावी परिणाम जे भए पनि स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका हुन् । टायर बालेर प्रदर्शन गरेपछि नेविसंघका केही विद्यार्थीले गेटमा रिले अनसन सुरू गरेका छन् ।
