गण्डकीका मुख्यमन्त्री र यूएनडीपीका निर्देशकबीच भेटवार्ता 

प्रदेशको प्राथमिकतामा सहकार्य गर्न मुख्यमन्त्री पाण्डेको प्रस्ताव 

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Meeting between Chief Minister of Gandaki and Director of UNDP

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र यूएनडीपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच सोमबार भेटवार्ता भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई यूएनडीपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए । 

यूएनडीपीले दिगो विकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेश भित्र गर्दै आएको सहयोगको प्रशंसा गर्दै उनले भने,  ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतन लगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा यूएनडीपीसँग सहकार्य गर्न हामी तयार छौं ।’ यी क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती बिस्तार गर्न र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए । गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा आफ्ना प्राथमिकताको क्षेत्र पहिचान गरेकाले उक्त क्षेत्रमा सहकार्य हुँदा प्रदेशवासीले ठूलो उपलब्धी हासिल गर्न सक्ने उनले बताए । 

निर्देशक क्रिस्टोफले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारीक कार्यक्रम भएको बताउँदै भने सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । प्रादेशिक तथा स्थानीय शासन सहायता कार्यक्रम (पीएलजीएसपी) अन्तर्गत कार्यान्वयन भएका कार्यक्रमको प्रभावकारिताका बारेमा पनि उनले चासो राखेका थिए । 

यूएनडीपीको सहयोगमा गण्डकी प्रदेशमा सहायता कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रमले स्थानीय तह र प्रदेशको क्षमता विकास, सशक्तीकरणको क्षेत्रमा सहयोग पुगेको मुख्यमन्त्री पाण्डेले बताए । ‘संघीयता कार्यान्वयनपछि प्रदेश संरचना हाम्रो लागि नयाँ हो । कानुन निर्माण, आवधिक योजना, क्षमता विकास, लैंगिक सामाजिक समावेशीकरण, राजस्व सुधारका क्षेत्रमा यो परियोजनाको ठूलो सहयोग छ,’ उनले भने, ‘सबैजसो स्थानीय तहमा यो परियोजना माग भएकाले कार्यक्षेत्र बिस्तार गर्न सक्दा अझै प्रभावकारी हुन्छ ।’ नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई पर्या पर्यटन, खेल पर्यटन, धार्मिक पर्यटनको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने उनले बताए । 

भेटमा यूएनडीपीको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो । गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराएका थिए । भेटघाटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, यूएनडीपीका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुकालगायत प्रतिनिधि मण्डल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधिको सहभागिता  थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully