नवलपुर — पूर्वी नवलपरासीमा स्ववियु चुनावको विषयलाई लिएर आन्दोलित विद्यार्थी संगठनहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् । तालाबन्दी र अनशन रोक्नका लागि सहमति गरेका ४ विद्यार्थी संगठनले चैत ५ मै चुनाव गराउन एक मत भएका छन् ।
नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र समाजवादीको अनेरास्ववियूले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोलन आजैका दिनदेखि स्थगित भएको र चैत ५ गते नै चुनाव गराउन पब्लिक क्याम्पस संघसँग आग्रह गरेका छन् ।
विज्ञप्तिमा पब्लिक क्याम्पस संघले विद्यार्थी संगठनसँग छलफल नै नगरी चुनाव स्थगित गरेकोमा खेद प्रकट गर्दै चुनावी प्रक्रिया सुरु गर्न माग गरिएको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए । नेविसंघ जिल्ला अध्यक्ष हरि सुवेदी, अनेरास्ववियु जिल्ला अध्यक्ष सौगात भुसाल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष आयुष ढकाल र अनेरास्ववियू जिल्ला अध्यक्ष विशाल थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा चुनावका लागि विद्यार्थी संगठनहरुबीच सहकार्य, एकता र निरन्तर संवाद भैरहेको उल्लेख छ । पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरु सुवेदीले भने चुनावको निर्धारित तालिकाअनुसार प्रक्रिया अगाडि नबढेकाले त्रिवि विद्यार्थी कल्याण शाखासँग छलफल गरेर बाँकी प्रकृया अगाडि बढाइने बताए ।
