नवलपुर — पूर्वी नवलपरासीमा तोकिएको समयमा नै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउन कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीले माग गरेका छन् । विद्यार्थी संघ संगठनले जिल्लाका विभिन्न क्याम्पसमा तालाबन्दी गरेको र तालिकाअनुसार निर्वाचन गतिविधि अगाडि नबढेपछि सत्ता साझेदार दल र प्रतिपक्ष दलका जिल्ला नेतृत्वले यस्तो माग गरेका हुन् ।
नेपाल पब्लिक क्याम्पस संघले यही अवस्थामा तोकिएको समय चैत ५ मा चुनाव गराउन नसक्ने भनी प्रकाशित गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तालाबन्दी गरिएका सबै क्याम्पसहरूको ताला खोल्न र आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर सहमतिका आधारमा चुनाव गर्न आह्वान गरेको कांग्रेस पूर्वी नवलपरासीका उपसभापति बालकृष्ण घिमिरेले बताए । चार दलले जारी गरेको विज्ञप्तिमा स्ववियु चुनाव नहुने अवस्था आउनुले विद्यार्थीहरूको लोकतान्त्रिक हक अधिकार बञ्चित भएको उल्लेख छ ।
तालाबन्दी गरिएका सबै क्याम्पसहरूको ताला खोल्न र आन्दोलनका सबै कार्यक्रम स्थगित गरी सबै विद्यार्थी संघ, संगठनहरुको सहमतिका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ । नेपाल पब्लिक क्याम्पस संघका जिल्ला अध्यक्ष गुरु सुवेदीले विद्यार्थी संघ संगठनको तालाबन्दीको कारण चुनावी प्रक्रिया सुरु हुन नसकेको बताए । ‘अहिलेसम्म केही क्याम्पसमा संघ संगठन दर्ताबाहेक प्रक्रिया नै सुरु भएको छैन,’ उनले भने,‘चुनाव हुने क्याम्पसमा तालाबन्दी छ । कसरी चुनाव गर्ने । तालाबन्दी खुल्ने र त्रिभुवन विश्व विद्यालयले नयाँ कार्यतालिका निकालेको खण्डमा चुनावी प्रक्रिया अगाडि बढ्ला । अहिलेकै अवस्थामा प्रकृया अगाडि बढ्न सक्दैन ।’
विद्यार्थी संघ, संगठनको विवादका कारण जिल्लामा चुनाव हुने सबै क्याम्पसमा तालाबन्दी छ । समयमा नै चुनाव गराउनुपर्ने माग राख्दै नेविसंघले ४ दिनदेखि रिले अनशन गरिरहेको छ । जिल्लाका १० वटा क्याम्पसमा स्ववियु चुनाव हुने कार्यतालिका थियो ।
