इच्छा विपरीत लोला हान्नेलाई लमजुङ प्रशासनले कारबाही गर्ने

फाल्गुन २८, २०८१

आश गुरुङ

The Lamjung administration will take action against those who throw Lola against their will

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले होली (फागु) पर्वमा कसैको इच्छा विपरीत अवाञ्छनीय क्रियाकलाप गरेमा कारबाही गर्ने चेतावनी दिएको छ।

कसैको इच्छा विपरीत जबरजस्ती रंग हाल्ने, कुनै पनि प्रकारका लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख र हैरानी दिने व्यक्तिलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए।

उनका अनुसार चाडपर्वको नाममा बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादकपदार्थ तथा नसालु पदार्थ सेवन गर्ने र खुवाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थलहरुमा हो–हल्ला गर्ने व्यक्तिहरुलाई पनि कारबाही गरिने छ।

जिल्ला प्रशासन कार्यालय लमजुङले एक सार्वजनिक सूचना प्रकाशित गरी फागुन २९ गते हिमाली र पहाडी जिल्ला र चैत्र १ गते तराईका जिल्लामा रंग र हर्षको पर्वको रुपमा मनाइने होली (फागु) पर्वमा अमर्यादित क्रियाकलाप नगर्न भनेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले एक सार्वजनिक सूचना जारी गरी चर्को स्वरमा गीत र बाजा (डिजे) बजाउने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने र सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने कार्य नगर्न र नगराउनुहुन अनुरोध गरेका छन्।

घरको छत, छिँडी र बरण्डामा खेल्दा हुनसक्ने दुर्घटनाप्रति सजग रहँदै स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाई होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक मनाउँदै समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने कार्यमा सहयोग गर्न प्रशासनले नागरिकलाई अनुरोध गरेको छ।

पर्व मनाउने नाममा कुनै पनि अवाञ्छित क्रियाकलाप गरे र गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासनले चेतावनी दिएको छ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully