गोरखा — बारपाक सुलकोट गाउँपालिकाले आगामी चैत ७ गतेबाट हुने एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारको घोषणा गरेको छ ।
पालिकाभित्रका विद्यालयबाट ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई गाउँपालिकाले १ लाख पुरस्कार दिने घोषणा गरेको हो ।
त्यस्तै ३.९०–३.९९ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार, ३.८०–३.८१ जीपीए प्राप्त गर्नेलाई २५ हजार नगद दिने गाउँपालिकाले जनाएको छ । ३.७०–३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६०–३.६९ प्राप्त गर्ने विद्यार्थीलाई १५ हजार दिने गाउँपालिकाले घोषणा गरेको हो ।
उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद रकम उपलब्ध गराउन गत माघ २५ गतेको कार्यपालिका बैठकबाट निर्णय गराइएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।
‘विद्यार्थीलाई प्रोत्साहन मिलोस् भनेर यो घोषणा गरेका हौं’, उनले भने । यस करा्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने भट्टको भनाइ छ । यसवर्षको एसईई परीक्षामा बारपाक सुलिकोट गाउँपालिकाका १० माध्यमिक विद्यालयबाट नियमित तर्फ २९८ र ग्रेडवृद्धितर्फ ७३ गरी ३ सय ७१ विद्यार्थी सहभागी हुँदैछन् ।
