बागलुङ — दशकदेखि एसईईमा उत्कृष्ट नतिजा ल्याइरहेको यहाँको रुद्रे पिपल मावि आठ महिनादेखि प्रधानाध्यापकविहीन बनेको छ । तत्कालीन प्रधानाध्यापक राजेश श्रेष्ठले पदीय मर्यादाविपरीत काम गरेकाले सरुवा गरिएपछि यहाँ कोही आएका छैनन् ।
केही वर्षदेखि यो विद्यालयले अंग्रेजी माध्यममा पनि पढाउन थालेको छ । तर प्रधानाध्यापक नभएपछि विद्यालयको पढाइ र व्यवस्थापनमा असर परेको छ ।
सहायक प्रअ सीता नेपालीले नियमित कक्षामा पढाएर बैठक र अन्य काममा निस्कनै नपाएको गुनासो गरिन् । तत्कालीन प्रधानाध्यापक राजेश श्रेष्ठले मदिरा सेवन गरेर विद्यालयमा आएको भन्दै व्यवस्थापन समितिले कारबाहीस्वरूप प्रअबाट हटाएको थियो । त्यसपछि बागलुङ नगरपालिकाले श्रेष्ठलाई एक महिना खाली राखेर अर्को विद्यालयमा सरुवा गरेको छ । तर उक्त विद्यालयमा प्रअ भने पठाएको छैन ।
हाल यो विद्यालयमा मावि तहमा श्रेष्ठ मात्रै दरबन्दीका शिक्षक थिए । ४ सय ८० विद्यार्थी पढ्ने यहाँ नगरपालिकाको अनुदान कोटाका एक जनाबाहेक अन्य सबै निजी स्रोत र प्रावि दरबन्दीका शिक्षक मात्रै छन् ।
अभिभावकले चन्दा दिएर १० जना निजी स्रोतका शिक्षक राखेर यहाँ पठनपाठन भइरहेको छ । दरबन्दीका प्राथमिक शिक्षक मात्रै हुँदा मावि तहको पढाइमा असर परेको नेपालीले बताइन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल बोहराले पटक–पटक नगरपालिकामा दरबन्दीको शिक्षक माग गर्न पुग्दा बेवास्ता भएको गुनासो गरे । ‘नगर शिक्षा समितिका पदाधिकारी नै सामुदायिक विद्यालय सपार्ने पक्षमा छैनन्,’ उनले भने, ‘वर्षौंदेखि उत्कृष्ट नतिजा ल्याएको विद्यालयमा एउटा शिक्षक दिन नसक्ने भन्ने होइन, यो नियत हो ।’ उनले मजदुरी गर्ने अभिभावकको श्रमबाट रकम जुटाएर विद्यालय संचालन भएको पनि बताए ।
नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले चाहिएअनुसारको शिक्षक नपाएर पठाउन नसकेको बताए । एसईईको तयारी कक्षा चलिरहेका बेला गणित शिक्षक नभएर विद्यार्थी चिन्तित भएका छन् । यो विद्यालयका विद्यार्थी अधिकांश मालढुंगास्थित माझी बस्तीका मजदुरका बालबालिका हुन् । उनीहरू अहिले पनि दैनिक गाडी चढेर मात्र विद्यालय आउन बाध्य छन् ।
‘दलित र मजदुरका बालबालिकालाई छात्रवृत्ति दिन सकिएको छैन, शिक्षक नभएर उल्टै अभिभावकबाट आर्थिक सहयोग माग्न बाध्य छौं,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष बोहराले भने, ‘हामीले राम्रो परीक्षाफल निकालेको सजाए पाएका छौं ।’
