गोरखा — आरुघाट गाउँपालिकाले कृषि र पशुपालक ६ किसानलाई नगदसहित सम्मान गरेको छ । सोमबार गाउँसभाको १६ औं अधिवेशनको अवसरमा उत्कृष्ट कृषक छनोट गरी नगद १५ हजारसहित सम्मान गरिएको पशु सेवा शाखा प्रमुख इन्द्रहरि खनालले बताए ।
बाख्रा पालन गर्ने आरुघाट–३ का सेते खत्री, कुखुरा पालन गर्ने आरुघाट–१० का गीता श्रेष्ठ, माछा पालन गर्ने आरुघाट–१० का सन्दीप श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै मसला बालीतर्फ अलैंची खेती गर्दै आएका आरुघाट–२ का रामबहादुर गुरुङ, फलफूल खेती अन्तरगत केरा खेती गर्दै आरुघाट–१ का वीरबहादुर लामा र तरकारी खेती गर्ने आरुघाट–७ का गोपाल बानियाँलाई सम्मान गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष राजु गुरुङले उत्कृष्ट किसानलाई सम्मानपत्रका साथ सम्मान गरेका थिए ।
त्यस्तै, अधिवेशनले आरुघाट आधारभूत अस्पतालमा सामाजिक सेवा इकाइ स्थापना गर्ने पनि निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।
‘आर्थिक अवस्था कमजोर भएकाहरुलाई उपचारमा सहयोगका लागि इकाइ स्थापना गर्न लागेका हौं,’ उनले भने ।
