लमजुङ — हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सञ्चालनको तयारी गरिएको छ । मनाङमा हालसम्म सार्वजनिक रुपमा पिक जिपले मात्रै सेवा दिँदै आएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सार्वजनिक बस सञ्चालन गर्ने सम्बन्धमा आइतबार तयारी बैठक बसेको बताए ।
‘हामीले लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म पहिलोपटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने तयारी गरेका छौं,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि र पूर्वाधार विकास कार्यालयका प्रमुखसहित बसेको समन्वयात्मक बैठकले सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने निर्णय गरेको हो ।
यातायातलाई व्यवस्थित, सुलभ र सरल रुपमा सञ्चालन गरी मनाङका वासिन्दा, आन्तरिक तथा बाहृय पर्यटक तथा कर्मचारीलाई सहुलियतपूर्ण यात्राको सुनिश्चित गर्न बस सञ्चालन आवश्यक रहेको बैठकको निष्कर्ष रहेको उनले बताए ।
बैठकले मनाङमा पहिलो पटक बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालयबाट आवश्यक रुट इजाजतपत्र लिने र रुट इजाजतपत्र प्राप्त भएपछि भाडादर निर्धारण गरी बस सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
यसअघि मनाङमा ५ सिट क्षमताका पिकअप जिप मात्र सञ्चालन हुने गरेकाले यात्रुहरुले कष्टपूर्ण यात्रा गरिरहनुपरेको अवस्था रहेको छ । यसले पर्यटकीय सिजनमा यात्रुहरुले सहज रुपमा सवारी साधन प्राप्त नगर्ने, भाडादर महँगो तिरेर यात्रा गर्नुपर्ने, सवारी साधनको पछाडि बसेर असुरक्षित यात्रा गर्नुपरेको अवस्था रहेको र स्थानीयहरूले छोटो दूरीको यात्रा तय गर्न सवारी साधन प्राप्त गर्न नसक्ने अवस्था रहेको प्रजिअ आचार्यले बताए ।
‘सार्वजनिक यातायात बस सञ्चालन गर्न सकेको अवस्थामा मनाङको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ,’ उनले भने । उनले पर्यटक तथा आम सर्वसाधारण तथा कर्मचारीले उचित तथा सहुलियत भाडादरमा सहज र सुरक्षित रूपमा सवारी साधनको यात्रा गर्न पाउने तथा मालसामान ढुवानीका साधनसमेत सञ्चालन भई मालसामानको बजारदरमा समेत कमी आउने अपेक्षा लिइएको बताए ।
यात्रुवाहक बस सञ्चालनलाई सुरक्षित र सहज वनाउन अप्ठ्यारा तथा समस्याग्रस्त स्थानको पहिचान गर्ने, सो कार्यमा यातायात व्यवसायी तथा पूर्वाधार विकास कार्यालयले समन्वय गर्ने तथा पहिचान गरिएका स्थानहरुको स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय दमौली, डुम्रे–बेंसीसहर–चामे सडक आयोजना बेंसीससहर तथा निर्माणाधीन जलविद्युत् आयोजना तथा स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ आचार्यले बताए ।
मनाङ सदरमुकाम चामेमा २०७५ चैत दोस्रो साता मिनीबस पुगेको थियो । बेंसीसहर–बाहुनडाँडा चल्ने उक्त बस पुगेर फर्किएपछि यात्रुवाहक बस हालसम्म मनाङ पुगेको छैन । अहिले सडकको अवस्था सुधार हुँदै गएकाले बस सञ्चालन गर्न सकिने प्रजिअ आचार्यले बताए ।
नेपाली सेनाले १० वर्ष लगाएर निर्माण गरेको सडक २०६९ सालमा सडक विभागलाई जिम्मा लगाएपछि मनाङमा पिक जिप गुड्न थालेको हो । अहिले उक्त सडकमा ट्रकसमेत गुड्न थालेको छ ।
बेंसीसहर–चामे सडकको करिब ६५ किलोमिटर सडकको बेंसीसहरदेखि खुदीसम्मको ७ किलोमिटर सडक पिच भइसकेको छ । अप्ठ्यारो सडकहरु धेरै ठाउँमा ढलान तथा स्तरोन्नति भएको मनाङ प्रशासनले जनाएको छ ।
