बागलुङ — गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले कामकाजको भाषाका लागि नेपालीसहित गुरुङ र मगर भाषालाई छिट्टै प्रयोगमा ल्याउने बताएका छन् ।
सरकारले ल्याएको विधेयक संसद्मा दर्ता भएर विषयगत छलफलमा रहेकाले हिउँदे अधिवेशनबाटै यो उपयोगमा आउने उनले बताए ।
शनिबार बागलुङमा आयोजित ‘साझा जनआवाज डिजिटल पत्रिका’ उद्घाटन गर्दै उनले बहुसंख्यक जनताको भाषा संरक्षणमा त्यसले सहयोग पुग्ने बताए ।
गण्डकी प्रदेशको संसद्ले गाँजाखेतीलाई व्यवस्थित र वैधानिक बनाउने कानुन निर्माणमा पनि कसरत गरिरहेको उनको भनाइ थियो । स्थानीय मदिरालाई ब्रान्ड गर्दा स्वदेशी पुँजीको बचत हुने पनि उनले बताए ।
सभामुख धितालले सञ्चारमाध्यमले पनि बहुसंख्यक नागरिकको भाषा बोल्नुपर्ने बताए । उनले आम नागरिकको भावनालाई उजागर गर्ने धर्म निर्वाह गर्न पनि आग्रह गरे ।
पछिल्लो समय व्यवस्थाविरोधी गतिविधि बढे पनि सञ्चारमाध्यमले लोकतन्त्र र गणतन्त्रका विषयलाई प्राथमिकता दिनुपर्ने समेत उनले बताए ।
