पोखरा — १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकीकृत समाजवादीका नेता विष्णु गिरीलाई पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ घर भएका ५१ वर्षीय गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जा प्रहरी प्रमुख एसपी शालिग्राम शर्माले कास्की प्रहरीको पक्राउ पुर्जीको आधारमा गिरीलाई २० गते स्याङ्जास्थित घरबाटै पक्राउ गरी कास्की प्रहरीको जिम्मा लगाइएको बताए ।
जिल्ला अदालत कास्कीले फागुन २ गते प्रहरीलाई पक्राउ पुर्जी दिएको थियो । अदालतको पक्राउ पुर्जीको आधारमा कास्की प्रहरीले फागुन १३ गते स्याङ्जा प्रहरीलाई पक्राउ गरी सहयोग गरिदिन पत्राचार गरेको थियो । स्याङ्जा प्रहरीले २० गते नियन्त्रणमा लिएलगत्तै गिरीलाई कास्की प्रहरीको जिम्मा लगायो । घटना २०८० असोजको हो ।
एकीकृत समाजवादी पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष एव् स्याङ्जा जिल्लाका अध्यक्षसमेत रहेका गिरीलाई ०८० असोजमा जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित बालिकाले प्रहरीलाई दिएको बयानअनुसार उनले पटकपटक करणीको प्रयास गर्दै आएका थिए । फागुन १ गते पीडित बालिकाले प्रहरीमा जाहेरी दिएपछि कास्की प्रहरीले अनुसन्धान थालेको थियो । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले सूचना पाएलगत्तै अदालतबाट पक्राउ पुर्जी लिएको बताए ।
कास्की प्रहरीले नेता गिरीलाई पक्राउ परेको दिन २० गतेदेखि नै लागू हुने गरी २१ गते जबरजस्ती करणी मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरेको एसपी ओलियाले बताए । बालिका अहिले कुनै एक संस्थाको जिम्मामा छिन् ।
