३ महिनादेखि बन्द माथिल्लो मनाङका विद्यालय आइतबारदेखि खुले

फाल्गुन १८, २०८१

आश गुरुङ

Schools in Upper Manang, closed for 3 months, opened from Sunday

लमजुङ — बन्द गरिएको करिब ३ महिनापछि माथिल्लो मनाङका विद्यालय आइतबारबाट खुल्न थालेका छन् । वार्षिक परीक्षापछि विद्यालय मंसिर अन्तिम सातादेखि बन्द गरिएका थिए ।

माथिल्लो मनाङमा हरेक वर्ष वार्षिक परीक्षा सकाएर छिटोमा मंसिर २१–२२ र ढिलोमा मंसिर २५–२६ देखि विद्यालय बन्द गरेर शिक्षकहरु झर्ने गर्छन् । यो समय हिउँ पर्ने भएकाले स्थानीय बासिन्दा र कामदार बेँसी झर्छन् ।

माथिल्लो मनाङको मनाङ गाउँस्थित अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेले आइतबारदेखि विद्यालयहरु खुलेको बताए । ‘विद्यालय खुले पनि सबै विद्यार्थी सबै आएका छैनन्, ’ उनले भने, ‘शिक्षक साथीहरु आउँदै हुनुहुन्छ ।’

१६ गते शुक्रबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरिए पनि शुक्रबार र शनिबार बिदा भएकाले आइतबारदेखि विद्यालय सञ्चालन गरिएको घिमिरेले बताए । 

गाउँपालिका निमित्त प्रशासकीय अधिकृत नवीन क्षेत्रीले मनाङ ङिस्याङ गाउँपालिकाभित्र १० कक्षासम्मको एउटा माविसहित ९ वटा विद्यालय छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाका अनुसार नार्पाभूमिको नार र फू गाउँको विद्यालय भने खुलेका छैनन् । उक्त ठाउँमा अहिले अत्यधिक चिसो भएकाले स्थानीय बेंसीतिरै द्धन् ।

सदरमुकाम समेत रहेको चामे गाउँपालिका र तल्लो मनाङको नासों गाउँपालिकाका विद्यालय भने माघ अन्तिम साताबाटै खुलेका छन् । ती विद्यालय माघ पहिलो सातादेखि बन्द गरिएका थिए । माथिल्लो मनाङ र नार्पाभूमिको तुलानामा सदरमुकाम चामे र चामेको तुलनामा तल्लो मनाङमा चिसो कम हुन्छ ।

मनाङमा कक्षा १२ सम्म पढाइ हुने २ र कक्षा १० सम्म पढाइ हुने २ गरी ४ वटा माध्यमिक विद्यालय छन् । अरु २२ वटा आधारभूत विद्यालय छन् । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully