नगरपालिका बनेको ८ वर्षमा ४ वटा घरको मात्र नक्सापास

जैमिनी नगरपालिका बनेको ८ वर्षमा ४ वटा घर मात्र नक्सापास भएका छन् । बन्दै गरेका अधिकांश घर भवन निर्माण संहिताको मापदण्डमा छैनन् । 

फाल्गुन १८, २०८१

प्रकाश बराल

Map of only 4 houses in the 8 years since the municipality was formed

बागलुङ — जैमिनी नगरपालिका–१ कुश्मीसेराकी मीना खत्रीले आर्थिक जर्ष २०७६/०७७ मा नक्सापास गरेर घर बनाइन् । त्यसपछिको दुई वर्षपछि मात्र वडा १ मै २०७९/०८० मा पुष्पराज पौडेलले नक्सापास गरे ।

पालिकाको मुकाम रहेको कुश्मीसेरा बजारमै स्थानीय टीकाराम शर्माको मोटर ग्यारेज पास गरेर सञ्चालनमा छ । तेजेन्द्रबहादुर नेपालीले नक्सा पास गरेर घर बनाइरहेका छन् । जैमिनी नगरपालिका घोषणाको ८ वर्षमा प्रक्रिया पुर्‍याएर बनेका संरचना चार वटा मात्रै हुन् ।

अधिकांशले आफूखुसी घर बनाइरहेका छन् । उनीहरूले नक्सापास गर्दैनन् । जसका कारण नगरको राजश्व संकलनमा ठूलो संकट छ । यसअघि बनेकामध्ये पनि अहिलेसम्म ४० घरको मात्रै निर्माण सम्पन्नताको प्रमाणपत्र लिएको इन्जिनियर रामकृष्ण पौडेलले बताए । ‘हामीले बेलाबेला सचेतना अभियान पनि चलाएका छौं, तर कोही पनि प्रक्रियामा आएका छैनन्,’ पौडेलले भने, ‘भूकम्प प्रतिरोधी घर बनाउने, नक्सापास गरेर मात्र घर बनाउने र घर बनिसकेपछि सम्पन्नताको प्रमाणपत्र लिनुपर्ने विषयमा नागरिकले नै चासो राख्दैनन् ।’ प्रक्रिया नपुगेका घरपरिवारलाई नगरपालिकाले सेवासुविधा दिन अप्ठ्यारो पर्छ भन्ने जानेर पनि नआएको उनले बताए ।

२०७३ फागुनमा यो नगरपालिका घोषणा भएको थियो । तर नगरपालिकाभित्र बन्ने घरटहराको न नक्सापास हुन सकेको छ न भवन निर्माण संहिता नै लागू भएको छ । जसका कारण ग्रामीण बस्तीदेखि सहरोन्मुख क्षेत्रका पूर्वाधार जोखिममै ठडिइरहेका छन् । ‘हामीले धेरै नै प्रयास गरेका छौं, कसैले मान्दै मान्दैनन्,’ नगरप्रमुख नरबहादुर पुनले भने, ‘घरनक्सा पास गर्ने भनेको कर तिर्ने हो भन्ने मात्र बुझाइ छ ।’ बैंकबाट ऋण लिनुपर्दा भने कतिपयले एकैपटक घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिन आउने गरेको उनले बताए । त्यतिबेला प्राविधिकहरुले जे जस्तो रूपमा घर बनेको छ, सोही प्रकृतिको नक्सा बनाएर पास गरिदिने गरेका छन् ।

Map of only 4 houses in the 8 years since the municipality was formedभवन निर्माण संहिता पालना गर्नका लागि जग्गा, सडक र भवनको मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ । त्यसका लागि जैमिनी नगरको सहरोन्मुख क्षेत्रमा घडेरीको क्षेत्रफल नपुग्ने, ग्रामीण क्षेत्रमा चासो नै नहुने समस्या बढी देखिएको इन्जिनियर रामकृष्ण पौडेल बताउँछन् । ‘हामीले न्यूनतम साढे २ आनाबिना घर बनाउने अनुमति दिँदैनौं, तर बजार क्षेत्रका अधिकांश घर त्योभन्दा सानो क्षेत्रफलमा बनिरहेका छन्,’ उनले भने, ‘सडकको मापदण्ड छाडेर बनाउने चलन नै छैन ।’

जैमिनीको मुकाम रहेको कुश्मीसेरा बजारमा मूल सडक भएर मालढुंगादेखि कुश्मीसेरा, बरेङ हुँदै गुल्मीको शान्तिपुर जाने सडक छ । यो सडकको दायाबायाँ १८ मिटर घर बनाउन नपाइने व्यवस्था छ । तर बजार क्षेत्रमा ८ मिटर पनि पुग्दैन । पुरानै गल्लीका रूपमा घर बनिरहेका छन् ।

बजारकै भित्री सडकमा समेत ८ मिटर मापदण्ड कायम छ । तर त्यहाँ पनि मुस्किलले केही घरले मात्र मापदण्ड पूरा गरेका छन् । ‘अभिलेखीकरणका लागि आएकाहरुलाई समेत पास गर्न नसकिने केही घर छन्,’ उनले भने, ‘यो अवस्थाले भोलिका दिनमा बजार विस्तार गर्नै नसकिने अप्ठ्यारो छ ।’ हाल नगरपालिकाको प्राविधिक शाखा भाडामा बसेको धनाकुमारी क्षेत्रीको घरसमेत पास छैन । नगरको आफ्नै भवनसमेत अहिलेसम्म बन्न सकेको छैन । निर्माणाधीन भवन पूरा भएपछि मात्र नगरपालिकाले भवन निर्माण संहितामा कडाइ गर्न सक्ने पुन बताउँछन् ।

ग्रामीण बस्तीहरू जोडेर बनेकोले जैमिनी नगरपालिकाको आन्तरिक आयसमेत कमजोर छ । घरबहालसहितको एकीकृत सम्पत्ति कर लिँदा पनि वार्षिक डेढ करोडभन्दा माथिको आम्दानी गर्न नसकेको उपप्रमुख हरिहर शर्माले बताए । ‘हामीले करका दायरा बढाउने भनेका छौं, तर कतिपय मापदण्ड लागू गर्न नागरिक नै सक्षम छैनन्’ उनले भने, ‘व्यवसायमा लगाएर उनीहरूले खुसीले कर तिर्ने बनाउन सकियो भने मात्र आन्तरिक आय बढाउन सकिन्छ ।’ यहाँ बसाइँसराइको समेत दर उच्च छ ।

‘जलवायु परिवर्तनले तापक्रम बढ्दा सहर र तराईमा बस्नेहरू फर्कने अवस्था आयो भने ग्रामीण बस्ती भरिएलान, त्यतिबेला करका दायरा पनि बढ्लान्,’ शर्माले भने, ‘अहिले त विपन्न बस्तीबाट कर उठाउने सम्भावना छैन, बजार क्षेत्रमा व्यवस्थित बसोबास बस्न सकेको छैन ।’ नगरपालिकाले जग्गा अभावमा निर्माण गर्ने अन्य संरचना पनि अव्यवस्थित बनिरहेका छन् ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully