नवलपुर — पूर्वपश्चिम राजमार्गअर्न्तगत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भासिएपछि अहिले डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ । वर्षायामको जोखिमलाई ध्यान दिई विकल्पका रूपमा नयाँ पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको छ ।
नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल भासिएको स्थानमा नै नयाँ पुल निर्माण भइरहेको छ । भासिएको पुल मर्मतका लागि समय धेरै लाग्ने भएकाले बन्दै गरेको पुल सम्पन्न गर्न अहिले धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । २ सय ५० मिटर लामो पुलको पहिलो स्पानको ढलान सम्पन्न भएको छ ।
आउँदो वर्षायाम अगावै निर्माण गरी सवारी सञ्चालन गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको नारायणगढ बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।
भारतीय ट्रकले ओभरलोड बोक्दा गत पुसमा पुलमा क्षति पुगेको थियो ।
यसैबीच नारायणगढ बुटवल सडक खण्डको कामले तीव्रता लिएको छ । अहिलेसम्म दुवै खण्डमा ५७ प्रतिशत काम पूरा भएको छ । २०८२ साउन ८ सम्मका लागि म्याद थप भएको छ । १ सय १४ किलोमिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । अहिले पूर्वी र पश्चिम खण्डमा धमाधम सडक कालोपत्र भइरहेको छ । दाउन्ने खण्डमा पनि पुल तथा कल्भर्ट निमार्णको काम जारी छ ।
