लमजुङ — मनाङका उच्च क्षेत्रमा हिमपात भएको छ । केही दिनयता मौसममा बदली भएपछि उच्च क्षेत्रमा हिमपात भएको हो ।
विगतका वर्षमा मनाङको सबैभन्दा तल्लो क्षेत्र ताल (१,७०० मिटर) सम्म हिउँ पर्ने गरेकोमा यस वर्ष माथिल्लो मनाङका बस्तीसम्म पनि जम्ने गरी हिउँ पर्न सकेको छैन ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार माथिल्लो मनाङको मनाङ गाउँ (३,५१९ मिटर), खाङ्सार (३,७६५ मिटर) लगायत बस्तीमा सामान्य रुपमा हिउँ परे पनि जमेको भने छैन । डाँडाकाँडासम्म परेको हिउँ बस्तीसम्म झर्न नसकेको उनले बताए । अहिले चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकहरु निकै कम आएको र आएका पर्यटकहरु गन्तव्यतर्फ जाँदै गरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार सदरमुकाम चामेको माथिल्लो डाँडाहरुमा हिउँ परे पनि मानव बस्तीमा भने हिउँ परेको छैन । माथिल्लो मनाङको हुम्डे (३,३०० मिटर) सम्म मानव बस्तीमा शुक्रबार साँझपख सामान्य हिउँ परेपनि जम्ने गरी हिउँ नपरेको उनले बताए । ‘यसअघि १–२ पटक सामान्य रुपमा हिउँ परेको थियो, त्यतिबेला पनि जम्ने गरी परेन । अहिले पनि जम्ने गरी हिउँ परेन’,उनले भने ।
उनका अनुसार मनाङमा यस वर्ष हिउँ पर्ने समयमा पनि खडेरी लाग्यो । फागुन पहिलो सातासम्मै तिमाङ जंगलमा डढेलो थियो । सुरक्षाकर्मी, एक्याप र स्थानीयको प्रयास र मौसममा बदली भएपछि डढेलो निभ्यो । ‘हल्का पानी परिरहेको छ छिनछिनमा । बस्ती नै ढाकिने गरी हिउँ भने पर्न सकेको छैन’,उनले भने ।
![Snowfall in the highlands of Manang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/manang-himpat-6-0132025023450-1000x0.jpg&w=1001&h=0)