मनास्लु क्षेत्रमा भारी हिमपात

फाल्गुन १७, २०८१

हरिराम उप्रेती

Heavy snowfall in Manaslu region

गोरखा — मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री–१ सामागाउँ क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण लार्केपासका लागि पुगेका पर्यटक साम्दोमा रोकिएका छन् । केही पर्यटक लार्केपास नगरी फर्किएका छन् । साम्दोमा तीन फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) साम्दोले जनाएको छ ।

साम्दो क्षेत्रको पदमार्ग क्षेत्रमा जमेको हिउँ शनिबार बिहान शसस्त्र प्रहरीले पन्छाएको पनि थियो ।

शुक्रबारबाट लगातार हिमपात भइरहेको बीओपी साम्दोका प्रहरी निरीक्षक धर्मराज पण्डितले बताए । ‘तीन/चार दिन अघिदेखि हिमपात त भइरहेको थियो, हिजो(शुक्रबार)बाट लगातार हिउँ परिरहेको छ,’ उनले भने,‘लगातार हिमपात हुँदा पर्यटकहरु साम्दोमा रोकिनुभएको छ, केही पर्यटक लार्केपास नगरी आज बिहान फर्कनुभयो ।’

Heavy snowfall in Manaslu region

यो वर्षकै ठूलो हिमपात भएको स्थानीयले बताएका छन् । स्थानीय र पैदलयात्रीलाई सजिलोका लागि साम्दोको बस्ती क्षेत्रको पदमार्गको हिउँ भने शनिबार बिहान सशस्त्र प्रहरीले पन्छाएको छ । ‘बस्ती क्षेत्रको मूल बाटोको हिउँ पन्छाएका छौं,’ उनले भने, ‘स्थानीयलाई सजिलोका लागि पानी लिने धारा जाने र चौरी गोठसम्म जाने बाटोको हिउँ पन्छाएका हौं ।’ शनिबार साँझसम्म नै हिमपात जारी रहेको पनि उनले बताए । 

Heavy snowfall in Manaslu region

लगातार हिमपात जारी रहेकाले सशस्त्र प्रहरीले मनास्लु पदयात्रामा रहेकाहरुलाई सावधान रहन पनि आग्रह गरेको छ । हिमाली क्षेत्रमा आवातजावात गर्दा कुनै समस्या भएमा र सूचनाका लागि सशस्त्र प्रहरी बलको हटालइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरेको छ । लगातारको हिमपातका कारण चुमनुब्रीको साम्दो, सामागाउँ, स्याला लगायतको बस्ती हिउँले ढाकेको छ । हिमपातसँगै उत्तरी क्षेत्रमा चिसो बढ्दा जनजिवन प्रभावित बनेको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully