मध्यपहाडी लोकमार्गमा हिमपातले सडक नै ढाकियो

फाल्गुन १६, २०८१

प्रकाश बराल

Snow covered the road on Madhyapahari Lokmarg

बागलुङ — शुक्रबार बिहानदेखि बागलुङको ढोरपाटन, निसीखोला र रुकुम सिमानाको पातीहाल्नेमा झरीसँगै हिमपात भएको छ ।

बिहानैदेखि परेको हिउँले पहाडहरु सेताम्मे बनेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले बताए । हिउँले मध्यपहाडी लोकमार्गको बागलुङतर्फको झन्डै ७ किमी खण्ड ढाकिएको छ भने रुकुमतर्फ पनि हिमपात भएको हो । हिमपातका कारण उक्त सडक भएर सवारीसमेत गुड्न सकेका छैनन् ।

हिमपातका कारण सडक ढाकिएकोले मध्यपहाडी लोकमार्गमा यात्रा गर्दा सचेतना अपनाउन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् । रुकुमका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर रात्रीकालिन सवारीलाई रोक्ने प्रयास भएको पनि उनले बताए । 

चिप्लो र घुम्ती तथा भिरालोमा सडक भएकोले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरिएको उनको भनाइ छ । स्थानीय प्रहरी चौकीका जवानले स्थलगत निरीक्षण गरेर हिमपातको जानकारी गराएको उनले बताए । 

लोकमार्गको यो खण्डको बाटो भएर रुकुम पूर्व र पश्चित तथा जाजरकोटबाट काठमाडौंसम्म छुट्ने रात्रीबस र अन्य सवारी पनि गुड्ने गर्छन् ।  

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully