परासी — फागुन १३ गते पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा भएको घटनामा ५ बुँदे सहमति भएको छ । दुई समूहबीचको विवाद हुँदा मंगलबार बेलासपुरमा १ जनाको मृत्यु र २० जना घाइते भएका थिए । झडपको क्रममा सवारी साधनले ठक्कर दिँदा घाइते भएका पाल्हिनन्दन–३ का ३५ वर्षीय विजय धवलको मृत्यु भएको थियो ।
विवाद बढ्ने भएपछि जिल्ला प्रशासन, जिल्ला समन्वय र सरोकारवालाबीच बिहीबार भएको छलफलमा ५ बुँदे सहमति भएको हो । दोषीलाई कारबाही, मृतकका परिवारलाई राहत र घटनामा संलग्न दोषीलाई कारबाही गर्ने लगायतका ५ बुँदे सहमति भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल अधिकारीले बताए ।
सहमतिसँगै मृतकको दाहसंस्कार भएको र आवश्यक अनुसन्धान भैरहेको छ । मुसलमान समुदायको केटी र धोवी थर भएका केटाबीचको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच विवाद भएको थियो । झडपको क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाइ फायर गरेको थियो । सोमबार केटाका भाइलाई केटी पक्षका आफन्तीले कुटपिट गरेपछि विवाद चर्किएको थियो ।
