'जनयुद्ध'का पहिलो सहिद रम्तेलका परिवारसहित २९ जनालाई सम्मान

फाल्गुन १४, २०८१

हरिराम उप्रेती

Honoring 29 people including the family of Ramtel, the first martyr of 'Jan Yuddh'

गोरखा — बारपाक सुलिकोट गाउँपालिकाले 'जनयुद्ध'का प्रथम सहिद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेलसहित २९ जनालाई सम्मान गरेको छ ।

बुधबार बारपाक सुलिकोट–८ जराङमा भएका जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९ औं स्मृति दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सहिद परिवार २७ जना, १ जना वेपत्ता योद्धाका परिवार र १ जना घाइतेलाई नगद १० हजारको साथमा दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, गाउँपालिका अध्यक्ष विष्णु भट्ट लगायतले उनीहरुलाई सम्मान गरे ।

सोही अवसरमा ‘बलिदानको जागमा आजको परिवर्तन’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि भएको थियो । प्रतियोगितामा शैलीपुत्री माविका युनिक पेनरु पहिलो, अन्तरज्योति माविका दिपिका सुनार दोस्रो, माझथर माविका एन्जीला सुनार तेस्रो तथा हिमालय मावि बारपाककी रिजु घले र दुर्गा मावि रन्चोकको वुभागी गुरुङ सान्त्वना बनिन् । उनीहरुलाई क्रमश: ३ हजार, २५ सय, दुई हजार दुई सय ५० र २/२ हजार नगद पुरस्कार दिइएको थियो ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully