मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै पालिकामा सार्वजनिक बिदा

फाल्गुन १३, २०८१

सम्झना रसाइली

Public holiday in all municipalities of Tanahun on the occasion of Magar Foundation Day

तनहुँ — ४३ औं मगर स्थापना दिवसका अवसरमा तनहुँका १० वटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । स्थानीय बिदाअन्तर्गत फागुन १५ बिहीबारका दिन ४ नगरपालिका र ६ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

२०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । उक्त दिन पालिकाअन्तर्गतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), तथा सम्पूर्ण सार्वजनिक सघसंस्था बन्द रहनेछन् ।

पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते हजारौं मगर समुदायको उपस्थितिमा दमौलीमा ‘नेपाल लांघाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मगर दिवस पनि भनिन्छ । २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लांघाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।

मगर दिवसका अवसरमा मगर संस्कृति झल्काउने भेषभूषा, झाँकीसहित बृहत् र्‍याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाच र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ ।

फागुन १५ मा संघीय सरकारबाट नै सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको पूर्ण पालना गर्नुपर्ने माग तनहुँका मगर समुदायले गर्दै आएका छन् ।

तनहुँको कूल जनसंख्या ३ लाख २१ हजार १५३ मध्ये सबैभन्दा बढी संख्या मगर समुदायको छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार मगर समुदायको जनसंख्या ८३ हजार ६३९ रहेको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully