नवलपरासी — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच झडप हुँदा मंगलबार दिनभर तनावग्रस्त बन्यो । स्थानीय एक युवक र युवतीबीच प्रेम सम्बन्धको विषयलाई लिएर झडप हुँदा १५ प्रहरीसहित १९ जना घाइते भएका छन् ।
झडपको क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी र केटी पक्षको घर अगाडि रहेको कवाडी गोदाममा आगजनी भएको प्रहरीले जनाएको छ । मुसलमान समुदायको केटी र धोवी थर भएका केटाबीचको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच विवाद भएको थियो । झडपको क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास र ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए । ‘अहिले स्थिति सामान्य अवस्थामा छ । घटनास्थलमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ,’ फुँयालले भने,‘घटनालाई सामान्य अवस्थामा लैजान प्रशासनको तर्फबाट दुबै पक्षका सरोकारवालासँग छलफल गरिरहेका छौं ।’
घाइतेहरुको भैरहवा र जिल्ला अस्पताल परासीमा उपचार भैरहेको छ । घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थल वरपर बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार केटाका भाइलाई केटी पक्षका आफन्तीले कुटपिट गरेपछि विवाद चर्किएको थियो । स्थानीयका अनुसार केटाकेटी दुवैको उमेर २० वर्षको हाराहारीमा भएको र प्रेम सम्बन्धपछि उनीहरु परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
प्रेममा रहेका केटाकेटी दुवै पक्षका आफन्तीले अलग-अलग राख्ने प्रयास गरे पनि केटाकेटी नमानेपछि उनीहरु परिवार र प्रहरीको सम्पर्कमा नआएको स्थानीय बताउँछन् । घटनामा सम्लग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
![Belaspur tense all day, 19 injured [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/messengercreation8213e842-4c8e-4e99-9e10-d05d1db2ce76-2522025124259-1000x0.jpg&w=1001&h=0)