पर्वतमा २६ मेट्रिक टन आलु फलाउने लक्ष्य

सिंगो गाउँपालिकालाई आलुबाट आत्मनिर्भर बनाउन जुटे किसान

फाल्गुन १२, २०८१

प्रकाश बराल

Aiming to grow 26 metric tons of potatoes in the mountains

पर्वत — पर्वतको बिहादी गाउँपालिका-५ को खोरपोखराका किसान यतिबेला आलुबारीमा व्यस्त छन् । यहाँका १९ किसानले ५० रोपनी जमिनमा सामूहिक आलु खेती गरेका छन् ।

शिवजीखोला कृषक समूहमा आबद्ध किसान यसपालि आलु बेचेर प्रतिघर एक लाख रुपैयाँ भित्र्याउने लक्ष्यमा छन् । मंसिरमा लगाइएको आलु खोस्रिने बेला भइसकेको छ । यसपाला प्रतिकेजी ५० रुपैयाँमा बारीबाट आलु बेच्न सकिन्छ कि भन्ने उनीहरुलाई लागेको छ । व्यक्तिगत आलु खेती गरिरहेका किसानलाई कृषि ज्ञान केन्द्र पर्वतले समूह बनाएर खेती गर्न उत्प्रेरित गरेको हो । 

समूहका सचिव खगेन्द्रप्रसाद तिवारीले अब आलु उत्पादन भएसँगै भण्डारणको व्यवस्था गर्नुपर्ने बताए । ‘हामीले खान पुग्ने गरी घरघरमा पनि आलु त लगाएकै थियौं । अब समूहमा लगाएर बजारीकरण गर्ने लक्ष्य छ,’ तिवारीले भने, ‘अब आलुबाट सिंगो गाउँपालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ होला ।’

२ मुरी आलु भित्र्याइसकेकी स्थानीय नैना काफ्लेले यसपाला आलु बेचेरै एक लाख भित्र्याउन सकिन्छ कि भनेर सुनाइन् । उनले समुहमा आलु खेती गर्दा लगानी पनि कम पर्ने र उत्पादन पनि राम्रो हुने बताउँदै हिउँदभर बाँझै रहने खेतमा अब आलु खेती गर्न सकिने सुनाइन् । 

शिवजीखोला कृषक समूहले यसपाला ‘सेजिटा’ जातको आलु नमुनाका रुपमा लगाएको थियो । कृषि ज्ञान केन्द्रले चालु वर्षमा बीउ मात्रै उत्पादन गर्नका लागि बिहादी-१ को सिर्जनशील कृषक समूह, वडा नम्बर ४ को आत्मनिर्भर कृषि समूह र वडा नम्बर ५ को शिवजीखोला कृषक समूहमा ‘सेजिटा’ आलु लगाइएको हो । ज्ञान केन्द्रका अनुसार यो आलुबाट ‘आलु चिप्स’ र ‘फ्रेन्स फ्राई’ बनाउन सकिन्छ । 

ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले पर्वतमा चालु आर्थिक वर्षमा मात्रै ६१ कृषक समूहका १ हजार ३ सय हेक्टर जमिनमा आलु खेती गर्न किसानलाई बीउ र प्रविधिमा अनुदान दिएको बताए । यसपाला २६ हजार मेट्रिकटन आलु बजार पठाउन सकिने लक्ष्य राखिएको बताउँदै उनले भने, ‘हामीले किसानलाई बीउमा ७० प्रतिशत र प्रविधिमा ५० प्रतिशत अनुदान दिएका छौं । सिँचाइको व्यवस्थापन गर्नु परेमा ७० प्रतिशत अनुदान सहयोग गरेका छौं ।’ 

आलु उत्पादन बढाउन मात्रै केन्द्रले पर्वतमा मात्रै २ करोड रुपैयाँ खर्चेको छ । ज्ञान केन्द्रका प्रमुख अधिकारीले किसानको उत्पादनलाई बुटवल र स्याङ्जासम्मका व्यवसायीले किन्न खोजिरहेको बताए ।

कृषि प्राविधिक ऋषिराम भुसालले उत्पादन बढे पनि बजारमा समस्या नहुने बताए । उनले भने, ‘किसानले उचित मूल्य समेत पाउने अवस्था बन्दै छ ।’

प्रकाश

Link copied successfully