मौरी पालेर चिनिएका सुमन

जंगलको अक्करमा भेटिएका मौरीलाई बिस्तार गर्दै गोरखाको बराफाँटका सुमन खड्काले १४० घार पुर्‍याएका छन्, मौरीसहितका घार र मह बेचेर मासिक एक लाखसम्म आम्दानी गर्छन्

फाल्गुन ११, २०८१

हरिराम उप्रेती

Suman is known for keeping bees

गोरखा — २०७७ वैशाखमा जंगलको अक्करमा मौरीको गोला देखेपछि सहिद लखन गाउँपालिका–८ बराफाँटका सुमन खड्कालाई घरमा ल्याएर पाल्ने रहर जाग्यो । जंगलको मौरी घरकै मुढे घारसम्म ल्याउन सफल भए ।

त्यही वर्ष गहुँ काट्न खेतमा पुग्दा उनको कानमा मौरीको बथान उडेको आवाज ठोक्कियो । हत्तपत्त उडेका मौरी घरमा लगेर पाल्ने योजना बनाए । धूलो माटो छर्किएर उडेका मौरी एकत्रित गर्दै घरसम्म पुर्‍याए । जंगलको मौरी घरसम्म लैजान उनले गाउँकै अग्रजबाट सिकेका थिए ।

‘सुगा खोज्न जाँदा साथीले जंगलमा अर्को मौरीको गोला भेटेपछि खबर गरे, त्यो पनि घरमा ल्याएँ,’ उनले भने, ‘एकपछि अर्को गर्दै मौरीको घार थप्दै तीन वटा पुग्यो ।’ रहरै रहरमा जंगलको मौरी घर ल्याएर पाल्न थालेका खड्का यसैलाई विस्तार गर्दै व्यावसायिक मौरीपालकको रुपमा परिचित छन् । यतिखेर गाउँपालिका र विभिन्न संघसंस्थाले अनुदानमा वितरणका लागि उनको फर्ममा मौरीसहितको घार खरिदका लागि अर्डर पनि गरेका छन् ।

तीन वटा मुढे घारबाट मौरी पाल्न सुरु गरेका खड्काले चार वर्षको अवधिमा १ सय ४० मौरीको घार बनाइसकेका छन् । ‘सुरुको वर्ष मौरी घरमा ल्याएर राखेपछि मौरी पालन सम्बन्धी धेरथोर ज्ञान भयो, अर्को वर्ष २०७८ मा मुढे घारभन्दा आधुनिक घारबाट मौरी पाल्दा फाइदा हुन्छ बुझेँ,’ उनले भने, ‘त्यसपछि आधुनिक घारमा त्यहीँ मौरीलाई विस्तार गर्दै लगेको छु ।’

अहिले खड्काको दैनिकी मौरीको स्याहारमा बित्ने गरेको छ । असार, साउन, भदौ, पुस र माघबाहेक अरु महिना महको सिजन रहेको उनले सुनाए । सेरेना जातका मौरी पालेका खड्काले मौरीसहितको घार पनि बेच्ने गरेका छन् । ‘मह र मौरीसहितको घार बिक्री हुन्छ,’ उनले भने, ‘मह जति उत्पादन गरे पनि बिक्रीको पिरलो छैन ।’ प्रतिकेजी १५ सय रुपैयाँमा मह बिक्री हुने गरेको उनले सुनाए । मौरीसहितको प्रति घार उनले १० हजार रुपैयाँमा बिक्री गर्छन् ।

Suman is known for keeping beesगोरखाको सहिद गाउँपालिका–८ का सुमन खड्काले पालन गरेको मौरी । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

२८ वर्षीय खड्काले मौरी पालनमा देखाएको लगावबाट छिमेकी पनि दंग छन् । २०७५ मा वैदेशिक रोजगारीमा जाने सोच बनाएर पनि रोकिएका खड्का स्वदेशमै कृषि पेशाबाट भएको आम्दानीप्रति सन्तुष्ट छन् । सानैदेखि कृषिमा रुचि भएका उनी २०७५ कात्तिकमा कृषि तथा माछापालन व्यवसाय हेरेर फर्कंदै गर्दा चितवनमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भए । त्यसपछि भने विदेश जाने चक्कर छाडेर कृषि पेशामा होमिए ।

‘विदेश जाने तयारीमा थिए, दुर्घटनामा परेपछि विदेश जाने कुरा भएन,’ उनले भने,‘स्वदेशमै केही गरौं भनेर भैंसी पालनमा लागे, १८ वटासम्म भैंसी पुर्‍याएको थिएँ, उत्पादित दूधलाई बजारकै समस्या भयो, भैंसी पाल्दा दु:ख पनि धेरै, त्यसपछि मौरी पालनमै जोड गरेको छु ।’

Suman is known for keeping bees

मौरी पालनबाट मासिक एक लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । ‘मौरीको हेरचाहमा चाहिँ खटिनुपर्छ, चराले दु:ख दिन्छ, बच्चा कुहिने, रानी उत्पादनमा पनि समस्या हुन्छ,’ उनले भने, ‘कुनै बेला त ६ घार मौरी एउटैमा पनि हाल्नुपर्ने हुन्छ, सबै घारमा निगरानी उत्तिकै राख्नुपर्छ ।’ मौरीलाई चरनका लागि खड्काले तोरी खेती पनि गरेका छन् । ‘मकैको चमरा पनि मौरीलाई चरनका लागि उपयुक्त हुन्छ, यस क्षेत्रको बाँझो जमिनमा रुधिलोको बिउ जमाएर पनि लगाउने योजनामा छु,’ उनले भने ।

Suman is known for keeping bees

रहरमा मौरीपालन गरेर ‘कैजेले मौरीपालक फर्म’ दर्ता गरेका उनले यस सम्बन्धी तालिम पनि लिएका छन् । अब मौरीको स्रोत केन्द्र बनाएर वार्षिक एक हजार वटासम्म घार बिक्री गर्ने उनको योजना छ । उनी अहिले मौरी पालन सम्बन्धी प्रशिक्षण पनि दिने गर्छन् । उनको मौरी पालनमा बुबा कृष्णबहादुर खड्काले पनि सघाएका छन् ।

Suman is known for keeping bees

‘चरा आउँछ, कुनैबेला अरिंगालले दु:ख दिन्छ, घार निरीक्षण गरिरहनु पर्छ,’ उनले भने, ‘कुनै बेला हूल नै छुटिदिन्छ, निगरानी गर्नचाहिँ छाड्नु भएन ।’

गाउँपालिकाले मौरीको घार अनुदानमा वितरण गर्दा पनि खड्काको फर्मबाट खरिद गर्ने गरेका छन् । सिरानचोकमा ६०, भिमसेन थापामा ८०, शहिद लखनमा १ सय २०, सामाजिक विकास कार्यालयबाट ८० वटा मौरीसहितको घार अर्डर भइसकेको उनले सुनाए । ‘यो सिजनमा मात्र ५ सय घार बिक्रीको तयारीमा छु,’ उनले भने । मौरी पालनका लागि मात्र २० लाख लगानी भइसकेको उनले सुनाए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully