तीन तले घरको छतबाट खस्दा बालकको मृत्यु

फाल्गुन ९, २०८१

आश गुरुङ

A child died after falling from the roof of a three-storey house

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका-८ क्याम्पस रोडमा ३ तले घरको छतबाट खस्दा ४ वर्षीय हमदान मियाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आफ्नै घरको छतमा खेलिरहेका उनी सडकमा खसेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई लमजुङमा उपचार हुन नसकी भरतपुर चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो ।

अस्पताल पुर्‍याइएका बालकको उपचारको क्रममा बिहीबार राति १० बजे आसपास मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए । उनका अनुसार बालक बिहीबार अपरान्ह साढे ४ बजेतिर खसेर गम्भीर घाइते भएका थिए ।

बालक स्थानीय न्यु इरा बोर्डिङ स्कुलमा कक्षा नर्सरीका विद्यार्थी थिए । उनका बुवा र हजुरबुवा दुवैजना वैदेशिक रोजगारीमा छन् । परिवारका एक्लो छोरा उनीसँग आमा र हजुरआमा बस्दै आएका थिए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully