ठूला योजना बनाउँदै, अलपत्र छाड्दै

फाल्गुन ८, २०८१

प्रकाश बराल

Making big plans, leaving them stranded

बागलुङ — पाँच वर्षअघि नै निर्माण भइसक्नुपर्ने बुर्तिवाङस्थित ढोरपाटन नगरपालिका-१ को बसपार्क अझै बन्न सकेको छैन । मध्यपहाडी लोकमार्गमा पर्ने १० नमुना सहर भित्र परेको बुर्तिवाङमा व्यवस्थित बसपार्क बनाउने जिम्मा पाएको नमुना सहरी आयोजनाले यो बसपार्क पूरा गर्न नसकेको हो । 

सुरुआतमा नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसकेको, पछि आइपर्ने विभिन्न बाधाव्यवधानले बसपार्क अझै अलपत्र छ । नगरको गौरवको योजनामा पनि यो बसपार्क सूचिकृत छ । तर अझै कहिले बनिसक्ने भन्ने अन्योल छ । जनप्रतिनिधिहरूले पनि पछिल्लो समय योजनाका लागि पहल गर्न छाडेका छन् । आयोजनाले पनि बजेट अभाव भन्दै काम रोकेको छ । काम भइरहेकै खण्डमा स्थानीयले अतिक्रमण गरिसकेका छन् । 

गत असोजमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको बागलुङ बसपार्क पनि अझै सञ्चालनमा आउन सकेको छैन । चौतर्फी आलोचना भएपछि सोह्रौँ नगर परिषद्ले बसपार्क व्यवस्थापन ऐन २०८१ ल्याएको छ । उक्त ऐनले दीर्घकालीन रूपमा बसपार्क भाडामा दिएर सञ्चालन गर्न बाटो खुलेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । तर अहिले पनि बसपार्क सुनसान छ । पुरानो चिप्लेटी बसपार्कमै बस राखिन्छन् । बरु सडकमा अव्यवस्थित पार्क गरेर पैदलयात्रुलाई समेत सास्ती पर्छ । तर पनि आधुनिक भनिएको बसपार्क चलाउन नगरले नसेको हो । ऐनले बसपार्क चलाउने बाटो खुलेको श्रेष्ठ दाबी गर्छन् । ‘ऐनले बढीमा ३० वर्ष सम्म बसपार्क भाडामा दिन बाटो खोलेको छ,’ श्रेष्ठले भने, ‘ठेक्का लिनेलेनै बसपार्क चलाउन सक्छन् ।’ यसअघि आवश्यक ऐन कानुन नभएकोले उद्घाटन गरेर पनि बसपार्कलाई नियमित गर्न नसकेको उनले बताए ।

यस्तै गत आर्थिक वर्ष नै सञ्चालन गर्ने लक्ष्य राखिएको कुकुर आवास बनाउने महत्त्वाकांक्षी योजना बागलुङ नगरपालिकाले सुरु गर्न सकेको छैन । जग्गा व्यवस्थापन, खर्च र विभिन्न क्षेत्रबाट आउने आलोचनाले नगरपालिकाले अझै काम गर्न नसकेको हो ।

सोह्रौँ नगरसभामा नगर प्रमुख श्रेष्ठले योजना सम्झौताको चरणमा पुगेको दाबी गरेको पनि डेढ महिना भयो । उक्त योजना सञ्चालन भएमा नगर भित्रका सबै सामुदायिक कुकुरलाई आवासमा राखिनेछ । सडकमा छाडा छाडिएका कुकुरले टोकेर धेरै मानिस घाइते भएकोले यो अवधारणा ल्याए पनि काम भने सुरु गर्न ढिला भएको हो । 

फोहोरको व्यवस्थापन गर्ने र जिरो वेस्ट गर्ने अभियान पनि अगाडि बढ्न सकेको छैन । अध्ययनबिनै ल्याइएको ढल निकास योजना त अलपत्रै भयो । डीपीआरमै त्रुटि भएपछि फिर्ता भएको योजना तीन वर्षदेखि अलपत्र छ । अहिले त नगरपालिकाले उक्त योजना स्थगित गरेको छ । ६ वर्षअघि नै तत्कालीन नगरप्रमुख जनकराज पौडेलले अगाडि सारेको ढल निकास योजनाको डीपीआर नै त्रुटि भएपछि पटक पटकको संशोधन पनि असम्भव भएको हो ।

पछिल्लो समय नगरपालिकाहरुले महत्वकांक्षी योजना अगाडि सारेर अलपत्र पार्ने क्रम बढेको छ । गलकोट नगरपालिकाले जिप पार्क पनि सञ्चालनमा आउनै सकेको छैन । फोहोर व्यवस्थापन र चक्रपथ बनाउने योजना पनि सफल बनाउन सकेन । अहिले ती योजनाहरू क्रमगत योजनामा देखिनै छाडेका छन् । नगर गौरवका योजना भन्दै अघिल्लो कार्यकालमै अगाडि सारिएका योजनाहरू अलपत्र भएका हुन्।

जैमिनी नगरपालिकाको बाँदर पार्क योजना पनि अलमलमा छ । अध्ययन कालागि विनियोजन भएको १५ लाख रुपैयाँले अहिले सम्म काम सुरु भएको छैन । सामुदायिक वनको क्षेत्रमा पार्क बनाउने योजना वन ऐन र अनुमति पाउन कठिनाइ हुँदा रोकिएको हो । ढोरपाटनमा हाई-अल्टिट्युड खेल मैदान बनाउने लक्ष्य तुहियो । सिकार आरक्षण सहित मन्त्रिपरिषद्को निर्णय नै चाहिने भएपछि खेलकुद विकास समितिले अगाडि सारेको योजना समेत अलपत्र भएको हो । 

त्यस बाहेक नगरपालिकाहरुले तीन वर्षअघि भदौ र असोज भित्रै योजना सम्झौता सकेर काम गर्ने घोषणा गरे । पहिलो वर्ष बागलुङ नगरपालिका, जैमिनी र गलकोटले चैत मसान्त भित्रै अधिकांश योजना सम्पन्न पनि गरे । कार्यक्रम मात्रै वैशाख र जेठमा गरेका थिए । तर गत वर्ष विस्तारै ढिला गरेका नगरहरूले चालुवर्ष अझै योजना सम्झौता पनि सकेका छैनन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully