काठमाडौँ — गोरखा नगरपालिका–१० छेवेटारस्थित बुद्धिमान गुरुङ र गिता पोखरेलले संचालन गरेको खाजाघरबाट नगद चोरी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गोरखा–१० का मन्जिल मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । चोरी भएका सामानमध्ये केही सामान मंगलबार उनको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा गत माघ १७ गते गुरुङ र पोखरेलको खाजाघरबाट नगद र सरसमान चोरी गरी खरेलको खाजाघरमा आगो लगाएको खुलेको प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका आरोपित मग्रातीलाई बिहीबार चोरी तथा आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेका उनले बताए ।
आरोपित यसअघि पनि २०७१ जेठ १८ मा डाँका चोरी गरी कर्तव्य ज्यान कसुर, ०७९ कात्तिक १७ गते चोरी कसुर र ०८० वैशाख ३१ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भइ कारबाही भएको प्रहरीको अभिलेखमा भेटिएको छ ।
