गोरखा — धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको छ ।
रेसे खोलामा १६ मेगावाटको माछीखोला जलविद्युत् आयोजना निर्माण गरिररहेको वाटर इनर्जी डेभलपमेन्ट प्रालिले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएको हो ।
गत साउन १३ गते पहिरोमा परी धार्चे–५ का जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, सुलाल गुरुङ, रमेश गुरुङ र आरुघाट गाउँपालिका–७ का रमेश परियारको मृत्यु भएको थियो । मृतकका परिवारलाई ३ लाख राहत उपलब्ध गराउने सहमतिअनुसार गाउँपालिकाको रोहवरमा रकम उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । उनका अनुसार दुई किस्तामा रकम उपलब्ध गराउने सहमतिअनुसार आइतबार पहिलो किस्ताको डेढ लाख रुपैयाँको दरले वितरण गरिएको हो । प्रालिका कर्मचारी समेत रहेका रमेश गुरुङका परिवारलाई भने थप ७ लाख रुपैयाँ पनि उपलब्ध गराउने सहमति भएको थियो ।
पहिरोमा परी घाइते भएका दिलिप गुरुङलाई पहिलो किस्ताको तीन लाख रुपैयाँ उपलब्ध गराइएको छ । घाइतेलाई उपचारका लागि प्रालिले ६ लाख रकम उपलब्ध गराउने सहमति भएको छ । घाइते गुरुङलाई गाउँपालिकाले पनि थप १ लाख रुपैयाँ उपलब्ध गराएको सुनारले बताए ।
गत साउन १३ गतेको पहिरोमा पुरिँदा एकै परिवारका तीनसहित पाँच जनाले ज्यान गुमाएका थिए । गाउपालिका र कम्पनीबीच पुस २५ गते भएको छलफलमा राहत रकम उपलब्ध गराउने सहमति भएको थियो ।
