गोरखा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय स्वास्थ्य सेवाको विस्तारको लागि चनाखो र जागरूक हुनुपर्ने बताएका छन् ।
गोरखा नगरपालिका–१२ को तारानगर स्वास्थ्यचौकीमा सोमबार भएको आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुन नहुने बताए ।
‘स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त अधिकारी पनि हो,’ उनले भने, ‘स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कम्तीमा पनि कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्यमा खर्च गर्नुपर्छ भन्ने विषयमा प्रयत्नशील र सचेत पनि छौं ।’
विकास निर्माणको योजना माग राख्दा जनस्तरबाट स्वास्थ्य सेवा विस्तारको योजना कमै आउने गरेको उनले बताए । ‘७० प्रतिशत भन्दाबढीले बाटो चाहियो भनेर आउनुहुन्छ, स्वास्थ्यमा गुणस्तर बढाइदिनुस् भनेर योजना माग्दै कम नै आउनुहुन्छ,’ उनले भने, ‘स्वास्थ्य सेवाको विस्तारका लागि स्थानीय पनि चनाखो र जागरूक हुनुपर्ने अवस्था देखिन्छ ।’
त्यस्तै मुख्यमन्त्री पाण्डेले नसर्ने रोगको ‘स्क्रिनिङ’ कार्यक्रम वडा तहसम्म नै लैजाने प्रयास भइरहेको पनि बताए । ‘अस्पताल पुगेर बेडमा बस्नुपर्ने अवस्था नहुन्जेल सम्म अस्पताल जाँदैनौं, आफ्नो रोग आफैंले पालेर बस्ने अवस्था देखिन्छ,’ उनले भने, ‘गाउँघरमा नसर्ने रोगको स्क्रिनिङ गरेर उपचारको व्यवस्था गर्न वडा तहसम्मै स्क्रिनिङ गरेर उपचार गर्नुपर्ने भए अस्पतालसम्म जाने व्यवस्था मिलाउँछौं ।’
त्यस्तै १५ बेड क्षमताको गोरखाको आँपपिपल अस्पताललाई ५० बेडमा स्तरोन्नती गर्ने निर्णय भइसकको उनले बताए । आँपपिपल अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर स्रोत साधनको व्यवस्था गर्ने उनले बताए ।
