बालीमा किरा फट्याङ्ग्रा नलागोस्, खडेरी नपरोस्, बाली राम्रो होस् भन्ने मान्यताका साथ यो पर्व मनाउने गरिन्छ
गोरखा — पुस्तौंदेखि चल्दै आएको ‘नरा पर्व’ मनाउन काम विशेषले जिल्ला बाहिर रहेकाहरु गाउँ फर्किए । पशुवस्तुलाई घाँस पराल दिने बाहेकका अरु काम स्थानीयले थाती राखे । १० दिनसम्म गाउँले भेला भए । अनि धुमधामका साथ नरा पर्व मनाए । यो दृश्य हो, धार्चे गाउँपालिका–२ केरौजाको ।
माघ २३ गतेबाट सुरु भएको यो पर्व शुक्रबार सकिएको छ । पर्वको अवसरमा १० दिनसम्म पौराणीक कथामा आधारीत जोडी नाच, लामा नाच, नानीमैयाँ नाच, घोडा नाच, याक चोर्ने नाच भएको छ । स्थानीय सुक वहादुर गुरुङले केरौजाका पुस्तौ अघि देखि नरा पर्व मनाउने प्रचलनलाई निरन्तरता दिँदै यस बर्ष धुमधामका साथ मनाइएको बताए । ‘बाबु वाजेकै पाला देखि उ वेलाको परम्परा हो,’ उनले भने,‘यो पर्व मनाउादा खेती उब्जनी राम्रो हुन्छ, पशु वस्तु राम्रो हुन्छ भन्ने मान्यता छ, यो एक किसिमको प्रकृती पुजा हो ।’
बालीमा किरा फट्याङ्गा नलागोस्, खडेरी नहोस् भन्ने मान्यताका साथ पर्व मनाउने गरिन्छ । नरा पर्व केरौजाका गुरुङ समुदायको दुइ उपथर (तनिल्ह र ङरदिम)ले मनाउने गर्दछन् । पछिल्लो वर्ष भने सवै गाउँले भेला भएर सामुहिक रुपमा पर्व मनाउने गरेको सुकबहादुरले बताए । ‘लगातार तीन वर्ष सम्म यो पर्व मनाउने अनि तीन वर्ष रोकेर अर्को तिन वर्ष पछि फेरि लगातार मनाउने प्रचलन छ,’ उनले भने, ‘यो पर्व मनाउँदा माटोको काम नगर्ने, खनजोत निर्माणको काम गर्न नहुने परम्परा छ, वस्तुलाई घाँस पानी दिने वाहेक अरु काम हुँदैन, भएन, सवै गाउँले यहि पर्व मनाउन भेला हुन्छौं ।’
वर्षदिनभरी खेतीवालीमा ब्यस्त हुने किसान पनि यो १० दिन सम्म पुजामा सहभागी वनेर खुसी मनाउने गरेको उनले सुनाए । गुरुङ समुदायको दुइ उपथरले पाँच/पाँच दिन यो पर्व मनाउने गरेको धार्चे–२ का वडा अध्यक्ष सरोज गुरुङले बताए ।
यस पर्वको अवसरमा लेकाली सिर्जनशिल युवा क्लवले भलिवल प्रतियोगिता पनि आयोजना गरेको थियो । प्रतियोगितामा २१ टिमले सहभागीता जनाएका थिए । प्रतियोगिताको उपाधी धार्चे–२ रुन्चेतको जुनतारा सिर्जनशिल युवा क्लवले जितेको छ । जित सागै जुनताराले ७० हजार नगद पुरस्कार पाएको छ । दोस्रो बनेको धार्चे–२ केरौजाको लेकाली सिर्जनशिल युवा क्लव ‘ए’ ५० हजार र तेस्रो बनेको लेकाली सिर्जनशिल युवा क्लव‘बी’ ले ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
