लमजुङ — लमजुङका ८ स्थानीय तहमध्ये बेसीशहर नगरपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा अन्य ७ वटा स्थानीय तहलाई उछिनेको हो ।
बेसीशहर नगरपालिकाले ७४ दशमलव ७ प्रतिशत अंक प्राप्त गरी लमजुङमा पहिलो स्थान हासिल गरेको हो । यस्तै ७२ दशमलव ३ प्रतिशत अंक प्राप्त गर्दै मर्स्याङ्दी गाउँपालिका दोस्रो र ६९ दशमवल १ अंकका साथ सुन्दरबजार नगरपालिका तेस्रो स्थानमा छ ।
चौथोमा रहेको राइनास नगरपालिकाको ६८ दशमलव १, मध्यनेपाल नगरपालिकाको ६४ दशमलव ७, क्व्होलासोथार गाउँपालिकाको ५८, दोर्दी गाउँपालिकाले ५४ दशमलव १ र दूधपोखरी गाउँपालिकाको ५१ दशमलव ९ प्रतिशत अंक छ ।
आयोगले आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे/नगरेको देखि समयमा बजेट पास भएन/भएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए/नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजिगत खर्चलगायत विभिन्न १७ वटा सूचकमा मूल्यांकन गरेर अंक दिने गर्छ ।
बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सुशासन र पारदर्शीतालाई पहिलो प्राथामिकतामा राखेर काम गर्दै आएको दाबी गरे । उनले समन्वय गर्नुपर्ने कार्य, न्यायिक कामहरु, नीति, नियम तथा कानुन बमोजिमका कामहरु गरिरहेकाले यसको प्रतिफल राम्रै हुनुपर्नेमा जोड दिए ।
