स्याङ्जा — स्याङ्जामा फागुन ६ देखि १८ गतेसम्म हुने ‘सातौ स्याङ्जा महोत्सव–२०८१’ को तयारी पुरा भएको छ । पुतलीबजार नगरपालिका-१ मालेबगरस्थित खेल मैदान हुने महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति, कृषि मेला, सुन्तला तथा अर्गानिक कफी प्रदर्शनी, माछा महोत्सव तथा बिक्री कक्षलगायत झण्डै २ सय २० स्टल रहने आयोजकको भनाइ छ ।
उद्योग वाणिज्य संघ स्याङ्जा मुल आयोजक रहेको महोत्सवका आयोजक नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश हुन् । आयोजक उद्योग वाणिज्य संघका स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठका अनुसार महोत्सवले स्थानीय उत्पादनका साथै कृषि तथा पशुपालन, पर्यटनलगायतक व्यवसायको प्रबर्द्धनका साथै विभिन्न राजनीतिक दल, सरकारी निकाय, संघ संस्था, तथा नागरिक समाजलगायत समग्र सबै पक्षको साझा मञ्चको रुपमा रहनेछ ।
महोत्सवमा ३ लाख ५० हजार भन्दा बढी सहभागी हुने र ८ करोडको कारोवार हुने आयोजकको अपेक्षा छ । महोत्सव प्रवेशका लागि एक सय रूपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीका लागि ५० प्रतिशत छुट छ । ज्येष्ठ नागरिकलाई भने महोत्सवमा निशुल्क प्रवेश दिइनेछ ।
आयोजका अनुसार महात्सवको उद्घाटन संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्दैछन् । समारोहमा नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य राजु थापा विशिष्ट अतिथि रहनेछन् । गण्डकी प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलगायत जनप्रतिनिधिको सहभागिता रहने महोत्सवमा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुती दिने आयोजकको भनाइ छ ।
