क्होइँबो निर्माण गर्न पोखरामा ४३ लाख संकलन

फाल्गुन १, २०८१

आश गुरुङ

43 lakhs collected in Pokhara to build Khoimbo

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा क्होइँबो निर्माण गर्न पोखरामा ४२ लाख ९२ हजार २ सय ३२ रुपैयाँ संकलन गरिएको छ ।

युम्पो तमू प्ये ल्हु संघ भुजुङ इकाई समितिले क्होइँबो निर्माण गर्न पोखरामा ४ दिन सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । भुजुङबासीले चन्दा संकलनको लागि गुरुङ समुदायमा लोपुन्मुख घाँटु, कृष्णचरित्र, युवा क्लवको नाचलगायत प्रस्तुति दिएका थिए । 

समितिका अध्यक्ष एवम् युम्पो क्होइँबो निर्माण समितिका अध्यक्ष ब्रिजबहादुर गुरुङका अनुसार अन्तिम दिन मंगलबार फलिना क्होइँबो पोखरामा आयोजित सांस्कृतिक कार्यक्रममा मात्रै १० लाख ५७ हजार ७ सय २४ रुपैयाँ संकलन भएको छ ।

पहिलो दिन २६ गते भुजुङ युम्पो तमू समाज, पोखरामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा २३ लाख २७ हजार ५ सय ११ रुपैयाँ संकलन भएको थियो । दोस्रो दिन २७ गते पसगाउँ तमू समाजमा आयोजित कार्यक्रममा २ लाख ६० हजार रुपैयाँ संकलन भएको थियो। तेस्रो दिन २८ गते पोंचोकों तमू परिवारमा भएको कार्यक्रममा ६ लाख ४६ हजार ९ सय ९५ रुपैयाँ संकलन गरिएको थियो ।

पोखरामा लमजुङ–पोखरा केन्द्रित तमू समाजहरु, तमू प्ये ल्हु संघ, पोखरामा आबद्ध क्षेत्रीय समाजहरु, संघसम्बद्ध विभिन्न समितिहरुले सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।

गुरुङ जातिको कूल धर्म बोन धर्मावलम्बीको आस्था राख्ने र गुरुङ पुरोहित घ्याब्रे, पच्यु, लमलगायत सिक्ने र सिकाउने ठाउँको रुपमा क्होइँबोलाई लिइन्छ । समितिका सचिव तुलबहादुर गुरुङका अनुसार भुजुङ गाउँमाथि नौजु डाँडाको करिब १० आना जग्गामा अहिले युम्पो क्होइँबो निर्माण भइरहेको छ । 

युम्पो क्होइाबो निर्माण समितिले ४ आना २ पैसा जग्गा खरिद गरेको र बाँकी जग्गा अमरजंग गुरुङ, टेकनसिंह गुरुङ र विन्दरी गुरुङले दान गरेका हुन् ।

चालु आर्थिक वर्षमा निर्माण सक्ने गरी सुरुवात गरिएको क्होइँबो निर्माणका लागि ५० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । यसका लागि विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा चन्दा संकलन अभियान सञ्चालन भइरहेको समितिले जनाएको छ । 

क्होइँबो निर्माणका लागि क्व्होलासोथार गाउँपालिकाले १५ लाख र वडा कार्यालयले ५ लाख बजेट विनियोजन गरेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully