लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका-२, सोतीपसलमा प्रहरी चौकी सोतिपसलको भवन निर्माण गरिएको छ । मूल्य अभिवृद्धि करसहित ३ करोड १६ लाख ८८ हजार ५४ रुपैयाँ लागतमा निर्माण भएको नयाँ भवनको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भोलाबहादुर रावलले मंगलबार उद्घाटन गरे ।
२०५५ सालमा स्थापना भएको प्रहरी चौकीको २५ वर्षपछि प्रहरी चौकी भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । उनका अनुसार नवनिर्मित भवनमा कार्य प्रशासन शाखा, महिला/पुरुष हिरासत कक्ष, महिला पुरुषको ब्यारेक, इन्चार्ज आवास, भान्सा तथा शौचालय निर्माण गरिएका छन् । नयाँ भवन निर्माण भएसँगै प्रहरीले दिने सेवामा थप सहज हुने उनले दाबी गरे ।
डीआईजी रावलले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रहरीलाई सुविधायुक्त भौतिक संरचनाको आवश्यक परेको बताए । ‘प्रहरीलाई क्षमता अभिवृद्धिसँगै पूर्वाधार, सीप, सुविधा, प्रविधिमा राम्रो बनाउँदै लैजानुपर्छ,’ उनले भने ।
डीएसपी इन्जिनियर ध्रुव अधिकारीले नेपाल सरकारबाट विनियोजित बजेटबाट निर्माण गरिएको भवनमा १२ वटा कोठा रहेको बताए । प्रहरी चौकीमा हाल ११ जना दरबन्दी छ । ‘प्रहरी यसअघि समुदायले निर्माण गरिदिएको जस्तापाताको छानो र जस्तापाताले बारेको जीर्ण घरमा थियो । अब सुविधासम्पन्न भवन बनेको छ । यसलाई सदुपयोग गर्न आवश्यक छ,’ उनले भने ।
सुनामी एसए जेभी नुवाकोट र जिल्ला प्रहरी कार्यालयबीच २०८० जेठ २१ गते निर्माण सम्झौताअनुसार १८ महिनामा सक्नुपर्ने भएकोमा सम्झौताअगावै प्रहरी चौकी भवन निर्माण सकिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी उद्घाटन कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, मध्यनेपाल नगरपालिका-२ का वडाध्यक्ष पदमबहादुर थापालगायतले प्रहरीको व्यवस्थित भवन निर्माणसँगै नागरिकले सर्वसुलभ रूपमा शान्ति सुरक्षा र सेवा प्राप्त गर्नेमा विश्वास व्यक्त गरे ।
