बागलुङ — 'जनयुद्ध' दिवसको अवसरमा फागुन १ गते यहाँको ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।
सोमबारको कार्यपालिका बैठकले पालिका भित्रका सबै निकायमा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले जानकारी दिए । ताराखोलाले यस अघिका वर्ष पनि जनयुद्ध दिवस मनाउने गरेको थियो । गाउँपालिका, सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य र सहकारी संस्थाहरुमा पनि बिदा दिन कार्यपालिकाको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल बिकले पत्राचारसमेत गरेका छन् ।
तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा बागलुङको ताराखोला सबैभन्दा बढी प्रभावित स्थान हो । यहाँका २५ जनाभन्दा बढी सहिद छन् भने अझै पनि बेपत्ता र घाइतेहरुको समेत लामो सूची छ । उनीहरुको सम्मानमा गाउँपालिकाले सहिद सप्ताह मनाएर स्मरण गर्ने समेत चलन छ । स्थानीय तहको निर्वाचनमा ताराखोलामा माओवादीले जित्दै आएको छ ।
